
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् ।
भारत पाकिस्तानमा खेल्न नगएकाले भारत संलग्न यस सेमिफाइनल खेल दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।
भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । दुवै टोली यस प्रतियोगितामा अपराजित छन्, अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो ।
भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो ।
यी दुई टोली पछिल्लोपटक सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भेटेका थिए । उक्त खेलमा १ लाखभन्दा बढी दर्शकलाई भारतकै रंगशालामा स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको थियो ।
भारत उक्त हारको बदला लिँदै उपाधिको एक कदम नजिक पुग्न चाहनेछ भने अस्ट्रेलिया जस्तो टिम लिएर खेलेको भएपनि आईसीसीका प्रतियोगितामा आफ्नो दबदबा कायमै राख्न चाहनेछ ।