अपडेट 
२०७७ बैशाख ३, बुधबार १९:३९

एजेन्सी। चीनले कोरोना भाइरसविरुद्धका दुई खोप मानिसमा परीक्षणका लागि अनुमति दिएको छ । चीनमा कोरोना रोकथामका लागि गठित समितिले यो जानकारी दिएको हो ।

चीनको राष्ट्रिय फर्मास्युटिकल समूह र सिनोभ्याक अनुसन्धान लिमिटेडअन्तर्गतको वुहान इन्स्ट्युट अफ बायोलोजिकल प्रोडक्ट्स (सिनो फार्म)ले दुई किसिमका खोपको विकास गरेको हो ।

यी खोप कोरोना भाइरसविरुद्ध मानव परीक्षणका लागि चीनले अनुमति दिएको पहिलो ‘इन्एक्टिभ’ खोप हुन् । भाइरसविरुद्ध प्रयोग गर्न भाइरस नै प्रयोग गरेर बनाइने खोपहरू इन्एक्टिभ खोप हुन् ।

मृत भाइरसहरूको प्रयोग गरेर यस्ता खोप तयार पारिन्छन् । खोपमा हुने भाइरसमा रोग लगाउन सक्ने क्षमता नष्ट गरेर रोग प्रतिरोधात्मक क्षमताको विकास गरिएको हुन्छ । इन्एक्टिभ खोपहरूलाई आशादायी मानिन्छ । हेपाटाइटिस ए, इन्फ्लुएन्जालगायतका संक्रमणहरूविरुद्ध पनि इन्एक्टिभ खोपहरू दिइन्छ ।

कोरोना भाइरसविरुद्ध विकास गरिएको इन्एक्टिभ खोपको परीक्षण सकारात्मक देखिएमा ती कम्पनीले ठूलो मात्रामा उत्पादन गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार यो खोप परीक्षण गर्न लागेको कम्पनी सिनोफार्मले खोपको अनुसन्धान एवं विकासका लागि भनेर १६ करोडभन्दा बढी अमेरिकी डलर छुट्याएको छ । इन्एक्टिभ खोपबाहेक आनुवांशिक इन्जिनियरिङ प्रविधिबाट पनि कम्पनीले खोप विकास गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News