
आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार आगामी वर्ष २०८२ मा ५२ दिन शनिवार बिदा रहेकोमा शनिवार बाहेक थप २९ दिन पनि मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ । जसमा ५२ शनिवार बाहेक थप ३२ दिन पर्व, जन्म जयन्ती र दिवसको बिदा भए पनि ३ वटा विभिन्न सार्वजनिक बिदाका दिन शनिवार नै परेका कारण २८ दिन मात्रै शनिवार बाहेक वर्षभरि मुलुकभरि नै बिदा कायम हुने गरी सार्वजनिक बिदा हुने भएको हो ।
यसरी हिसाब गर्दा मुलुकभरमा ५२ दिन शनिवार र थप २८ दिन विभिन्न पर्व, जन्म जयन्ती र दिवस गरेर ८१ दिन मुलुकभरिमा लागू हुने गरी सार्वजनिक बिदा हुने भएको छ । दशैका ६ दिन र तिहारका ५ दिन बाहेक वैशाख १ मा नयाँ वर्ष, वैशाख २९ मा चण्डी पूर्णिमा, असोज ६ मा घटस्थापना, कात्तिक १० मा छठ पर्व, मंसिर १८ मा धान्य पूर्णिमा, पुस १० मा क्रिसमस डे, पुस १५ मा तमू ल्होसार, माघ १ मा माघी पर्व, माघ ५ मा सोनम ल्होछार, फागुन ३ मा महाशिवरात्री, फागुन ६ मा ग्याल्पो ल्होसार, फागुन १८ मा हिमाली जिल्लामा मनाइने फागु पूर्णिमा र फागुन १९ गते तराईका जिल्लामा मनाइने फागु पूर्णिमाको दिन मुलुकभरि सार्वजनिक बिदा हुने गरी बिदा दिइने निर्णय भएको छ ।
यस्तै इस्लाम धर्मावलम्बीको पर्व (इद उल फित्र)मा एक दिन र इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा)मा थप एक दिन गरेर दुई दिन मुलुकभरिका लागि थप बिदा दिने निर्णय भएको छ । २ दिनमा कुन दिन बिदा दिने भन्ने निर्णय भने गृह मन्त्रालयले मुस्लिम आयोगको सिफारिसमा गर्नेछ ।
आगामी साउन २४ गते रक्षा बन्धन साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी र दशैको अन्तिम दिन असोज १८ गते सार्वजनिक बिदा दिने निर्णय भए पनि यी तिनै दिन शनिवार परेकाले दोहोरो बिदा हुनबाट जोगिएको छ ।
अगामी वर्षमा मुलुकभरि सार्वजनिक बिदा हुनेमा दशै बिदा ६ दिन, तिहार बिदा ५ दिन र अरू विभिन्न पर्व बिदा १३ दिन गरेर पर्व बिदा २४ दिन हुनेछ । जसमा दशैको अन्तिम दिन भने शनिवार बिदा रहेको छ ।
यस्तै जन्म जयन्ती बिदा २ दिन र विभिन्न दिवसका आसवरमा ६ दिन गरेर थप ८ दिन मुलुकभरि सबैलाई हुने गरी सार्वजनिक बिदा दिइएको छ । जसमा वैशाख १८ मा विश्व मजदुर दिवस ९मे १०, जेठ १५ मा गणतन्त्र दिवस, असोज ३ मा संविधान दिवस, माघ १६ मा सहिद दिवस, फागुन ७ मा बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ मा अन्तर्राष्ट्रिय महिला दिवसको दिन मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदा हुने भएको छ । यस्तै वैशाख २९ मा बुद्ध जयन्ती र पुस २७ मा पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का अवसरमा पनि मुलुकभरि नै बिदा हुने गरी सार्वजनिक बिदा दिइने निर्णय भएको छ ।
त्यो बाहेक सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र ३ दिन, महिला कर्मचारीका लागि मात्र २ दिन, शिक्षण संस्थाका लागि मात्र एक दिन, काठमाडौं उपत्यकालाई मात्रै जात्रा बिदा ४ दिन, अपाङ्गता भएका कर्मचारीका लागि मात्रै एक दिन र सम्बन्धित धर्मावलम्बीका लागि मात्रै ३ दिन बिदा दिइने निर्णय भएको छ । जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस राष्ट्रिय रूपमा मनाइने भए पनि कार्यालय खुल्ने गरी मनाइने उल्लेख छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने सरकारले निर्णय गरेको छ ।