२०८१ फाल्गुन २२, बिहीबार १६:२३

मिथिला माध्यमिकी परिक्रमाको सातौ दिन आज महोत्तरीको कञ्चनबनमा परिक्रमाबासीहरु होली खेल्दै छन् । धनुषाको ठेढा कचुरीबाट शुरु भएको परिक्रमा सातौ दिन कञ्चनबन पुगेर होली खेल्ने परम्परा रहेको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट शुरु भएको परिक्रमा सातौँ दिन आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन आइपुगेको छ।​ सप्तमी तिथिमा ध्रुवकुण्डबाट परिक्रमाको डोला कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको छ।

इच्छावती नदीले भगवान् रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान् राम र माता जानकीले होली पर्व मनाएका थिए। यहाँ परिक्रमामा सहभागी अबिरको होली खेल्ने गर्छन्। परिक्रमामा मिथिलाबिहारीको डोलासँगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीले एक अर्कालाई अबिर दलेर होली पर्व मनाएको छ।

कञ्चनवनमा परिक्रमामा सहभागीले अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठमन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिको सहभागिता हुन्छ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ।

किशोरीजी डोलाका प्रमुख महन्थ नवलकिशोर शरणका अनुसार जुन होली कञ्चनवनमा हुने गरेको छ‚ त्यस्तो मिथिलाञ्चलमा कही कतै हुँदैन। एकातिर रंग अबिर, अर्कोतर्फ होरैया गान, फेरि हजारौं सहभागिता देखिने गर्छ। यहाँको होली आनन्दमय हुन्छ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गरेको नगरप्रमुख सञ्जीव साहले जानकारी दिए।

स्वागतका लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ। मेयर साहका अनुसार तीर्थालुका लागि पुवा, खीर, शर्वत, अबिर, फूलमालाको व्यवस्था गरिएको छ भने होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेका छन्।

कञ्चनवनमा त्रेतायुगमा भगवान् राम र सीताले अबिर खेलेर होली मनाएको धार्मिक विश्वास छ। आज पनि यहाँ आएका श्रद्धालुले एक–अर्कालाई रंग, अबिर लगाएर होली खेले।

साधुसन्तसँगै तीर्थालु, दर्शनार्थी समेत यहाँ विभिन्न होलीको गीतागानमा रमाउदै रंगअबिर खेल्छन्। भगवान् रामसीताले होली खेलेको पवित्र भूमि कञ्चनवनमा आएर आफूहरू पनि होली खेल्न पाउँदा भाग्यमानी महसुस गर्नुका साथै सौभाग्य पाएको भन्दै तीर्थालुले खुसी व्यक्त गरेका हुन्।

प्रत्येक वर्ष कञ्चनवनमा करिब ५ लाख पर्यटन आउने गरे पनि प्रदेशका यस्ता धार्मिक स्थलबाट राज्य बेखबर हुनु दुःखद रहेको गुनासो स्थानीय र तीर्थालुले गरेका हुन्।

साधुसन्तले लाखौं पर्यटक र तीर्थयात्री आउने यस्ता धार्मिक ऐतिहासिक धरोहर सरकारको प्राथमिकतामा पर्न नसक्नु दुःखद रहेको बताए।

Comment


Related News

Latest News

Trending News