
जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बन गरेको छ ।
अनुशासन समितिकी केन्द्रीय सचिव अनिताकुमारी मण्डलले राष्ट्रिय कोषाध्यक्ष यादवलाई चार बुँदै स्पष्टीकरण सोधेकी थिइन् । उनले यादवलाई सात दिनभित्र स्पष्टीकरण दिन र सो प्रक्रियाभर पदबाट निलम्बन रहने पत्र काटेकी छन् ।
पार्टीको राष्ट्रिय कोषाध्यक्ष जस्तो ठूलो पदमा दिनहुँ काम पर्ने जिम्मेवारीमा बसेर अधिकांश समय विदेशमा बिताउने गरेको, पार्टीको महत्वपूर्ण बैठक र कार्यहरुमा सहभागी नभएको, गैरआवासीय मधेशी संघको कोषाध्यक्षसमेत रहे पनि हिसाब माग्दा नदिएको र झूटा हिसाब देखाउने गरेको आरोप यादवमाथि लगाइएको छ ।
यस्तै पार्टीको विरोधमा सामाजिक सञ्जालमा पोष्ट गरेको, पार्टी फोड्न गुटबन्दी गरेको, सप्तरी १ र २ मा नेता कार्यकर्ता भड्काएर निष्क्रिय बनाएको, त्यहाँको उम्मेदवार डा. जयकान्त राउत, राष्ट्रिय अध्यक्ष डा. सीके राउत र बारा २ को उपनिर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई हराउने षड्यन्त्र गरेकोलगायतका आरोप पनि यादवमाथि लगाइएको छ ।