२०८१ फाल्गुन २५, आईतवार ०७:१४

राज्यबाट सधैँ मधेशी महिला उपेक्षामा पर्ने गरेका तराई मधेशबाट प्रतिनिधित्व गर्ने महिला सांसदहरुले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार मधेशी पत्रकार समाज तथा मधेसी एसोसिएसन इन अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका छन् ।

नेकपा (एमाले) की सांसद जुली महतोले मधेशी महिला त झनै अधिकारबाट वञ्चित रहेको गुनासो गरिन् । ‘आज अन्तर्राष्ट्रिय महिला दिवस छ, तर महिलाले अधिकार नपाएको अवस्था छ,’ उनले भनिन्, ‘महिलाका लागि आज रमाइलो गर्ने दिन हो, तर अझै आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका छन् ।’ एक नम्बरमा हुँदा पनि राज्यले मधेशी भएकै कारण डा. संगीता मिश्रलाई सचिव नबनाएको उनले आरोप लगाइन् ।

नीति निर्माणको तह महिलालाई रोक्ने काम भइरहेकाले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय तहमा उपमेयरमा महिला भए पनि अधिकार सुनिश्चित नभएको उनले बताइन् । त्यस्तै जनता समाजवादी पार्टीकी सांसद रञ्जु ठाकुरले पुरुष विना महिलाले केही गर्न नसक्ने र महिलाविना पनि पुरुषले केही गर्न नसक्ने बताइन् ।

मधेशी महिला नीति निर्माण तथा कार्यान्वयनको ठाउँमा नपुगेको उनको भनाइ थियो । महिलाले आफ्नो अधिकारका लागि आफैँ सक्षम हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो । महिलाको सशक्तीकरण भए पनि त्यसको प्रयोग नभएकाले हरेक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा उनले जोड दिइन् । जसपा नेपालकी सांसद रेखा यादवले युग परिवर्तन भए पनि महिलालाई हेर्ने दृष्टिमा कुनै परिवर्तन नआएको बताइन् । महिलाको अंगलाई प्रतिष्ठासँग जोडेर हेरेको उनले आरोप लगाइन् ।

राज्यले मधेशी महिलालाई अधिकारबाट वञ्चित गरेको उदाहरण आफू भएको डा.संगीता मिश्रले बताइन् । प्राध्यापक एवं लेखिका मञ्चला झाले नारीको सम्मान हुने ठाउँमा मानवजातिको सम्मान हुने तर्क गरिन् । उनले पनि पहिलो नम्बरमै रहेकी संगीता मिश्रलाई स्वास्थ्य सचिव नबनाएको भन्दै मधेसी भएकै कारण राज्यले विभेद गरेको बताइन् ।

कलाकार सरीता साहले कुनै पनि महिलाले आफ्नो क्षमता देखाउन आफै काम गरेर देखाउनुपर्नेमा जोड दिइन् । मधेशको कलालाई अगाडि बढाउन कसैले ध्यान नदिएको र मधेशमा चलचित्र विकास बोर्ड हुँदा पनि त्यसले कलाको क्षेत्रमा खासै काम नगरेको उनले बताइन् । मानव अधिकारकर्मी मोहना अन्सारीले नेपालको तथ्यांकभन्दा बढी भयावह अवस्था मधेशी महिलाको रहेको बताइन् । सामाजिक सञ्जाल तथा मिडियाका कारण त्यो घटना बाहिर आएको उनले बताइन् ।

Comment


Related News

Latest News

Trending News