
सिरहामा बालिकासँग गुपचुप विवाह गरेका विवाहित युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका– १ स्थित मोहनपुरका २८ वर्षीय दीपेन्द्र सदाय रहेका छन् ।
बाल विवाहसम्बन्धी उजुरी परेपछि सदायलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको जनाइएको छ । सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले दीपेन्द्रलाई पक्राउ गरेको पुष्टि गरेका छन् । १५ वर्षीया बालिकालाई पनि सोधपुछका लागि सिरहा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दीपेन्द्रले नवराजपुर गाउँपालिका– १ स्थित भगवतीपुरकी १५ वर्षीया बालिकासँग गुपचुप विवाह गरेका थिए । फागुन १७ मा उनले विवाह गरेको बुझिएको छ ।
दीपेन्द्र भने विवाहित हुन् । उनका दुई सन्तान पनि छन्, तर टिकटकमार्फत प्रेममा फसाएर बालिकासँग दीपेन्द्रले गुपचुप विवाह गरेको छ । दीपेन्द्रले बालिकासँग टिकटकमार्फत लभ परेको बयान सिरहा प्रहरीसमक्ष दिएका छन् । उनले प्रलोभनमा पारी बालिकासँग गुपचुप विवाह गरेको भन्दै आवश्यक कारबाहीका लागि भगवतीपुरकै योगेन्द्र महारानको श्रीमती राजो देवीले फागुन १९ मा इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएकी छन् । प्रहरीमा परेको जाहेरीमा दीपेन्द्रले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा एक साथीलाई लिएर फागुन १७ गते राति करिब ९ बजे विवाह गर्न पुगेको उल्लेख गरिएको छ ।
कलिलो उमेरकै बालिकाको विवाह हुन लागेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई खबर गरेका थिए । सिरहा प्रहरी आउन लागेको सूचना पाएपछि दीपेन्द्र बालिका लिएर मोटरसाइकलमा फरार भएका थिए । त्यसपछि दीपेन्द्रले बालिकासँग विवाह गरेको भिडिओ टिकटकको विभिन्न आईडीबाट शेयर गरेपछि आवश्यक कारबाहीका लागि उजुरी दिएको राजो देवीले बताइन् ।