२०८१ फाल्गुन २६, सोमबार १४:०८

प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।

बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरूको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जान लागेका हुन्।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ।

सम्मेलन आउँदो चैत १९ र २० (अप्रिल २ र ३) मा थाइल्याण्डमा हुँदैछ।

यसअघि २ महिनाअघि नै बिम्स्टेक सम्मेलन गर्ने भने पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन रोकिएको थियो। सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ।

यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो।

नेपाली र भारतीय विदेश मन्त्री, विदेश सचिव र सरकारका उच्चपदस्थ अधिकारीहरूसहित भएको उक्त भेट सौहार्दपूर्ण भएको दुवै प्रधामन्त्रीहरूले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका थिए।

त्यसबेला दुई प्रधानमन्त्रीबीच ओलीसँग ऊर्जा, प्रबिधि र व्यापारजस्ता विषयहरूमा छलफल भएको सामाजिक सञ्जालमा लेखका छन्। यसबाहेक भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् विभिन्न चार विषयमा छलफल भएको थियो।

त्यसबेला भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपालको भ्रमण गर्ने जानकारी दिएकी थिइन्। नेपाल फर्किएपछि भने प्रधानमन्त्री ओली चीन भ्रमणमा गए। त्यसबेला नेपाल र चीनबीच बिआरई कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको थियो।

चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि प्रयास गरिए पनि त्यो सफल हुन सकेको थिएन । गत मंसिरमा झापा पुगेका बेला प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए। ‘पत्याएका छैनन् होला म छिट्टै भारत भ्रमणमा जान्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए।

त्यसपछि पुसको ६ गते परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमणबारे पनि छलफल गर्न भन्दै दिल्ली गएकी थिइन् तर त्यसबेला पनि प्रयास सफल भएको थिएन। यसपालि भने बिम्स्टेकको सम्मेलनमा जाँदा परराष्ट्र मन्त्रालयले दुई प्रधामन्त्रीबीच भेटवार्ताको चाँजोपाँजो मिलाएको हो।

बिम्स्टेक सम्मेलनमा जाने तय भए पनि नेपालका तर्फबाट राख्ने एजेण्डाहरू भने तय भइसकेको छैन। आइतबार परराष्ट्र मन्त्री राणाको अध्यक्षतामा बसेको ८ वटा सरोकारवाला मन्त्रालयका अधिकारीहरूबीच भएको बैठकले एक साताभित्र एजेण्डा तय गर्ने निर्णय गरेको छ।

बिम्स्टेक सम्मेलनमा विशेष गरी उद्योग, उत्पादकत्व, आइटी, बाणिज्य, कनेक्टिभिटी, कृषि, उर्जालगायत  विषयमा छलफल हुन्छ। बिम्स्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन्।

Comment


Related News

Latest News

Trending News