
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका सखा सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र बैंक खाता रोक्का गर्ने आदेश दिएको हो । हसिनाका साथै उनका छोरासहित धेरै आफन्तको सम्पत्ति जफत गर्न आदेश दिइएको छ । पूर्वप्रधानमन्त्री हसिना हाल भारतको शरणमा छिन् ।
ढाकाको एक अदालतले हसिनाको धानमण्डीस्थित निवास ‘सुधा सदन’ र अन्य सम्पत्ति जफत गर्न आदेश दिएको छ । एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अदालतले उनको परिवारसँग जोडिएका १२४ बैंक खाता जफत गर्न पनि आदेश दिएको छ ।
ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले मंगलबार त्यस्तो आदेश जारी गरेका हुन् ।
एसीसी अर्थात् भ्रष्टाचार विरोधी आयोगले दायर गरेको निवेदनपछि अदालतले हसिना र उनका आफन्तलाई कारबाही गर्न आदेश दिएको हो ।
अदालतले उनका छोरा साजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र छोरीहरू टुलिप सिद्दिकी र रदवान मुजिब सिद्दिकीको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।
बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भाग्न बाध्य भएकी थिइन् । त्यसको ३ दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।