१५ दिने मिथिला माध्यमिकी परिक्रमा बिहीबार भारतको अन्तिम विश्रामस्थल विशौल हुँदै जनकपुरधाम आउने छ ।
मंगलबार राति भारतको करुणामा विश्राम गरेका परिक्रमावासीहरू बुधबार बिहानै विशौल पुगेर रात बिताउने छन् भने बिहीबार विहानै जनकपुरधामका लागि प्रस्थान गर्ने छन् । त्यहाँबाट दिउँसो जनकपुरधाम आइपुग्ने छन् ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट सुरु भएको परिक्रमा यात्राको १४ औं दिनमा करुणा पुगेको टोली बुधबार विशौलमा रात बिताउने छ । विशौलमा विशेष मेला आयोजना गरिएको छ । त्यहाँ परिक्रमावासीका लागि खानपान र बस्नको व्यवस्था गरिएको छ । श्रद्धालुहरूले धुमधामसँग होली खेल्ने परम्परा रहेको छ ।
परिक्रमा टोली भोलि जनकपुरधाम फर्किने छ र त्यसपछि पर्सी जनकपुरधाममा अन्तगृह परिक्रमा गरेर आफ्नो धार्मिक यात्रा समाप्त गर्नेछन् । यस यात्रामा सहभागी हुनेहरूले धार्मिक मान्यताअनुसार मन, वचन र कर्मका पाप नष्ट हुने र मनोकामना पुरा हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल र भारतका धार्मिक, सांस्कृतिक र सामाजिक सद् भावका प्रतीकको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा १३ स्थान नेपालका धनुषा र महोत्तरी जिल्लामा र २ स्थान भारतमा गरी १५ विश्रामस्थलको मार्फत सम्पन्न हुँदै आएको छ ।


