अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १५:४६

जनकपुरधाम। कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ मा महामारीसँग जुझ्न ६ वटा अस्पताललाई कोभिड उपचार केन्द्रका रूपमा स्तरोन्नति गर्न एकसाथ काम थालिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ६ वटा सरकारी अस्पताललाई स्तरोन्नति गरी ५०–५० शय्याका कोभिड उपचारयुक्त अस्पताल बनाउन लागेको हो ।

महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोभिड अस्पताल बनाइँदै छ। यीमध्ये जलेश्वर, पोखरिया र भारदह अस्पताल १५ बाट ५० शय्याका बन्दै छन्। धनुषा, डुमरियाको स्वास्थ्य केन्द्रलाई पनि स्तरोन्नति गरेर ५० शय्याको बनाइने सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए। बाराको कलैया अस्पताल ५० शय्याकै रहे पनि त्यहाँ भेन्टिलेटर र आइसीयूसहितका पूर्वाधार थपिने उनले बताए।

‘कोभिड उपचारका लागि ६ वटै अस्पतालमा पूर्वाधार र प्राविधिक काम सुरु भइसकेको छ,’ साहले कान्तिपुरसँग भने, ‘जनकपुर नर्सिङ कलेजको भवनमा ५० बेडको थप आइसोलेसन वार्ड बनाइँदै छ।’ कोरोनाको महामारी झाँगिए प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डले मात्र थाम्न नसकिने निष्कर्ष निकाल्दै मन्त्रालयले नर्सिङ कलेज परिसरलाई कोभिड उपचारकै लागि प्रयोग गर्न पूर्वाधार थपेको हो।

संघीय सरकारले प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगन्ज र सगरमाथा अस्पताल राजविराजलाई कोभिड उपचार केन्द्र बनाएको छ। यी तीन अस्पतालमध्ये नारायणी र सगरमाथा अस्पताल संघकै मातहत छन्। अब प्रदेश सरकारले आफ्नै मातहतमा कोभिड उपचार केन्द्र स्थापना गर्न लागेको हो। ‘प्रदेशका सबै जनशक्ति र पूर्वाधार कोभिड नियन्त्रण र उपचारमै केन्द्रित छन्,’ साहले भने, ‘सरकारी अस्पताललाई बजेटको कमी हुन दिएका छैनौं।’

सामाजिक विकास मन्त्रालयले सरकारी अस्पतालहरूलाई कोभिड विशेष उपचार केन्द्रमा परिणत गर्न जलेश्वर अस्पताललाई ८ करोड, कलैया अस्पताललाई ७ करोड, सिरहा अस्पताललाई ८ करोड, प्रादेशिक अस्पताल जनकपुरलाई २२ करोड रुपैयाँ उपलब्ध गराएको छ। ‘अरू अस्पताल रकम माग गर्ने क्रममा छन्,’ मन्त्री साहले भने, ‘मन्त्रालयकै बजेटबाट खर्चको व्यवस्थापन मिलाइएको छ।’

अस्पताललाई आवश्यक सामान खरिदको सबै प्रक्रिया मिले पनि लकडाउनले जहाज र कार्गो नचल्दा समयमै स्वास्थ्य उपकरण ल्याउन मुस्किल भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार नेपालमै उपलब्ध समान जुटाएर काम चलाइँदै छ।

संघबाटै वीरगन्जमा पीसीआर

एकैपटक ३ जनामा कोरोना भाइरस पुष्टि भएपछि संघीय सरकारले आफ्नो मातहत रहेको वीरगन्जको नारायणी अस्पताललाई स्वाब परीक्षणका लागि पीसीआर मेसिन उपलब्ध गराएको छ।

कोरोना भाइरसको उच्च जोखिम रहेको वीरगन्जमै स्वाबको परीक्षण गराउन सरकारले दैनिक करिब ३ सय जनाको परीक्षण हुने पीसीआर मेसिन बुधबार पठाएको हो। प्रदेश सरकारमार्फत हस्तान्तरण हुने भनिए पनि संघले अस्पताललाई सीधै प्रदान गरेको छ। मेसिन बुझ्न सामाजिक विकास मन्त्रालयका कर्मचारी काठमाडौं गए पनि संघीय सरकारले नारायणी अस्पताललाई नै सिधै दिइने बताएको थियो।

पीसीआर मेसिनबाट आइतबारदेखि परीक्षण थालिने नारायणी अस्पतालले जनाएको छ। अहिले पीसीआर मेसिन राख्ने ल्याबको काम भइरहेको छ। अब प्रदेश २ मा कोरोना भाइरसको स्वाब परीक्षण जनकपुर र वीरगन्ज दुई ठाउँबाट हुने भएको छ। 

Comment


Related News

Latest News

Trending News