
माध्यमिक शिक्षा परीक्षा (एसइई) को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियामा मधेश प्रदेश सरकार सामेल नहुने चेतावनी दिइएको छ ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने मुख्यमन्त्री सतिशकुमार सिंहले चेतावनी दिएका हुन् । मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिल कर्णले प्रेस विज्ञप्ति निकालेर उक्त कुराको जानकारी दिएका छन् ।
मुख्यमन्त्री सिंहले प्रदेशको शैक्षिक अवस्थामा सुधार गर्न भन्दै विद्यमान परीक्षा प्रणालीमा सुधार हुनुपर्ने सम्वद्ध पक्षलाई निर्देशन दिएका थिए । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाएको थियो ।
तर, विभिन्न जिल्लामा साबिककै व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री आक्रोशित भएका हुन् ।
केन्द्राध्यक्ष नियुक्तिलगायतका विषयमा नियमावलीमा स्पष्ट परिभाषित, सुनिश्चित र निर्दिष्ट हुँदाहुँदै पनि निर्देशिकामा उल्लिखित प्रावधानका नाउँमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिव समेत रहने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखका यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दूराग्रही व्यवहारले यो स्थिति आएको विज्ञप्तिमा जिकिर गरिएको छ ।