धनुषाको सबैला नगरपालिका–९ भठिहनमा चोकको नामकरणको विषयलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोलीबाट गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाण्डुस्थित अस्पतालमा लगिएको छ ।
शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्णका २० वर्षीय सन्तोष यादवलाई गोली लागेर घाइते भएका हुन् । उनको प्रारम्भिक उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भए पनि थप उपचारका लागि काठमाण्डुस्थित ट्रमा सेन्टर लगिएको जनाइएको छ । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित भैरव चोकलाई यादव चोक हुनुपर्ने भन्दै आइतबारदेखि दुई पक्षबीच विवाद भएको थियो । सोही विषयमा दुवै पक्षबीच विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाँदा प्रहरीले अवस्थालाई साम्य पार्न गोली चलाएको जनाएको छ । झडपले उग्ररुप लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
सोही प्रहरीले चलाएको गोलीबाट यादव घाइते भएका हुन् । यता सबैला नगरपालिकाका मेयर कारीराम यादवले चोकको नामकरण सर्वमान्य बनाउनका लागि प्रतिवद्धता जनाएका छन् ।
विवादको शुरुवात कोल्हुवा मोडका केही व्यक्तिहरुले भठिहनमा यादव चोकको बोर्ड राखेपछि भएको थियो । सो बोर्डमा जातीय नाम लेखिएकोले दुई समुदायबीच गम्भीर विवाद उत्पन्न भएको थियो । विवादका कारण स्थानीय क्षेत्र तनावग्रस्त बनेपछि सोमबार प्रहरीले गोली चलाउनु परेको छ । यस घटनापछि मेयर यादवले चोकको नामकरणलाई सामाजिक सद्भाव कायम गर्दै सर्वमान्य बनाउने निर्णय गरे । मेयर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै चोकको नामकरण सबैलाई स्वीकार्य हुने गरी गर्ने प्रतिवद्धता जनाए ।
मेयर यादवले भने, ‘ हामी सबै समुदायको सम्मान गर्दै र सामाजिक सद्भाव कायम राख्नेगरी चोकको नाम परिवर्तन गर्नेछौं । यसका लागि आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वपक्षीय बैठकमा यो निर्णय गरिएको हो ।’ सामाजिक शान्ति र सद् भावको महत्वलाई मध्यनजर गर्दै मेयर यादवले यस विवादको समाधानमा तटस्थ रहन र सबैको भावना सम्मान गर्दै निर्णय लिएको बताए । उनले असामाजिक अवस्था उत्पन्न नगरी समाजमा एकता र सद्भाव कायम राख्नु पर्ने बताए ।



