
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी हुलाकी सडक केन्द्रित तराई मधेश जागरण अभियान बारा र पर्सामा ७ र ८ गते हुने भएको छ ।
पार्टीका मधेश प्रदेश इन्चार्जसमेत रहेका उपमहासचिव मातृकाप्रसाद यादवको विशेष उपस्थितिमा पर्सा जिल्ला इन्चार्ज बिजय महतोको अध्यक्षतामा तथा सोमबार वीरगञ्जमा बसेको बैठकले अभियानलाई सफल पार्न सबै तहका पार्टी नेता कार्यकर्ताहरुलाई एकतावद्ध भएर लाग्न निर्देशन दिइएको छ ।
सो बैठकले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरुलाई जिताउन सबै पार्टीपंक्तिका नेता कार्यकर्ताहरु र विद्यार्थी संगठन लाग्ने निर्णय गरेको छ । त्यस्तै चैत्र ७ र ८ गते जनतासँग माओवादीको जागरण अभियान सफल बनाउनका लागि पार्टीका सबै तहका कमिटी र जनवर्गीय संगठनहरुले आ–आफ्नो स्थानबाट भूमिका खेल्न निर्देशन दिएको छ ।
त्यस्तै चैत १५ गते काठमाण्डुमा हुने गणतन्त्रवादीहरुको आयोजनामा हुने जनप्रदर्शनमा व्यापक सहभागिता गराउने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) पूर्वमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज यादवले बताए ।