२०८१ चैत्र ५, मंगलवार १८:२१

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयले आयोजना गरेको राइसिना डायलगका लागि नयाँ दिल्लीमा रहेका दुवैजनाबीच आज सो भेटवार्ता भएको हो। भेटमा नेपाल-युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा वार्ता भएको थियो।

त्यस अवसरमा मन्त्री डा राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका ७ जना नेपालीको रिहाइका लागि विदेशमन्त्री सिबिहामार्फत युक्रेनसँग आग्रह गरेकी थिइन्।

भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाली रुसी सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्कर मार्फत नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि जानकारीमा आएको मन्त्री डा राणाले स्पष्ट पारेकी थिइन्।

रुसी सेनामा कार्यरत ती ७ जना नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको आग्रह मन्त्री डा राणाले गरेकी हुन्।

उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना सरकारले पाएको जानकारी दिँदै उनले ती ७ नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन्।

भेटका क्रममा मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यलगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेनको सहयोगका लागि पनि आग्रह गरिन्।

यसैबीच यस भेटका क्रममा दुई देशबीच सरकारी एवं कूटनीतिक राहदानीवाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले दिएको छ।

Comment


Related News

Latest News

Trending News