महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ८ स्थित टिकुलियादेखि सुसौलासम्मको सडक स्तरोन्नतीको शिलान्यास गर्न पुगेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको गाडीमा ढुंगामुढा गरिएको छ ।
स्थानीयको सहभागिता बिना नै उपभोक्ता समिति गठन गरी ठेकदारमार्फत सडक स्तरोन्नतीको कार्य गराउन लागेको भन्दै स्थानीय वासिन्दाहरुले सडक शिलान्यासमा अवरोध खडा गरेका थिए । बुधवार बिहान शिलान्यास गर्न दलबलसहित पुगेका मन्त्री यादव शिलान्यास कार्यलाई केही मिनेटमै सकेर भागेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् ।
५० लाख रुपैयाँको योजना रहेको सो सडक निर्माण कार्य अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुले अर्थमन्त्री भरतप्रसाद साह रहेको बेला आफूहरुले योजना राख्न लगाएको दाबी गर्दै मन्त्री यादवले सो योजना बेचेको आरोप लगाएका छन् । करिब पौने तीन सय मिटर सडकमा ढलान गर्ने कार्यक्रम रहेको सहायक इञ्जिनियर सञ्जीव साहले जनाएका छन् ।
सो बजेट पचास लाख रुपैयाँ राखिए पनि इस्टिमेटबारे यकिन नभएको उनले बताए । शिलान्यास कार्यक्रम हुनु अगावैदेखि तनाव बनेको थियो । भारी संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अत्यन्त तनावपूर्ण स्थिति रहे पनि उच्च सुरक्षा सतर्कता अपनाइएकोले कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख डीएसपी सन्तु जयसवारले जनाएका छन् ।
‘मन्त्रीज्यूले शिलान्यास गरी फर्किसक्नु भएको छ’ उनले भने, समान्य झडप भए पनि त्यसबाट कसैलाई चोटपटक लागेको छैन । कार्यक्रम स्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेकाले विरोध गर्नेहरु कार्यक्रम स्थलसम्म पुग्न नपाएको उनको कथन छ । मन्त्री यादवले पनि शान्तिपूर्ण ढंगले स्थानीय वासिन्दाहरुको उपस्थितिमा शिलान्यास सम्पन्न भएको दाबी गरेका छन् ।
निर्धारित समय भित्रै सडक स्तरोन्नतीको काम पूरा हुने उनले बताए । तर प्रत्यक्षदर्शीहरुले मन्त्रीको गाडीमाथि समेत ढुंगामुढा प्रहार गरिएको जनाएका छन् । मन्त्रीको गाडीभन्दा चौथो नम्बरमा रहेको स्कोरपियो जिपको शिशा फुटेको संविधानसभा सदस्य समेत रहेका माओवादी केन्द्रका नेता लालेन्द्र मण्डलले जनाएका छन् ।
निर्माण सामग्री लिएर सडकमा आउँदै गरेको टिपरको स्थानीय वासिन्दाहरुले शिशा फुटाएको प्रहरीले समेत पुष्टि गरेको छ । सो योजना साढे ७ लाख रुपैयाँ अग्रीम बुझाएर खरिद गरिएको र उपभोक्ता समिति बनाउन समेत लगानी भएको ठेकदारले दाबी गरेका छन् । नेता मण्डलले ठेकदार आफैले लगानी गरी मन्त्रीसित योजना खरिद गर्नेदेखि उपभोक्ता समितिमा अग्रीम लगानी गरेको बताउँदै काम गर्न जोड गरेपछि टिपरको शिशा फुटाइएको बताए ।
शिलान्यास भए पनि निर्माण कार्य अवरुद्ध भएको छ । त्यहाँ वडा नम्बर ८ का वडाध्यक्षले उपभोक्ता समिति गठन गर्न अस्वीकार गरेपछि पालिकाबाट नै सोझै उपभोक्ता समिति गठन गरिएको मण्डलले जनाएका छन् । उपभोक्ता समिति गठन गर्ने प्रक्रिया अनुसार वडा कार्यालयले स्थानीयहरुलाई सार्वजनिक सुचना गरी भेला बोलाएर उपभोक्ता समिति गठन गर्नुपर्ने हो ।
जिल्ला पूर्वाधार विकास कार्यालयबाट सोझै वडा कार्यालयमा उपभोक्ता समिति गठन गर्न पत्राचार हुनुपर्नेमा मन्त्री यादवले कार्यालय प्रमुखको दस्तखत गराएर कार्यादेश आफैले १० प्रतिशत अग्रीम रकम लिएर दलाल मार्फत बेचेको आरोप लागेको छ । पूर्वाधार विकास कार्यालय महोत्तरीले वडा कार्यालयमा उपभोक्ता समिति गठन गर्न सोझै पत्राचार नगरेको कारण १५ दिन पूर्व लगाइएको ताला खोलिएको छ । तर कार्यालय प्रमुख राजेश लाल कर्णले कागजातहरु झोलामै राखेर बाहिरबाट काम गरिरहेको आरोप छ ।
कार्यालयको ताला खोलिए पनि कर्मचारीहरुमा त्रास छ । प्राविधिकहरुले मन्त्रीको जनकपुरधामस्थित सरकारी निवास र कर्मचारीहरुले बर्दिवासलगायतका गोप्य स्थानहरुबाट काम गरिरहेको आरोप लगाइएको छ । बिक्री भएका योजनाहरुको कार्यान्वयन सहज नभएको नेता मण्डलले बताए । लाभान्वित हुने उपभोक्ताहरुलाई जानकारी नै नदिइ ठेकदारमार्फत उपभोक्ता समिति गठन गराउँदा स्थानीयमा मन्त्री यादवप्रति आक्रोश छ । मन्त्री यादवले एमालेकै युवा नेताहरुले राख्न लगाएको योजनाहरु बिक्री गरेको आरोप लगाइएको छ ।
मधेश प्रदेशको आठ वटै जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनाहरु बिक्री गरिएको छ । यसैबीच नेकपा एमाले धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ५ का नेकपा एमालेका एकजना युवा नेताले राखेको योजना जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १९ का एक ठेकदारले किनेका छन् ।
वडा नम्बर ५ का वडाध्यक्ष पनि एमालेबाट निर्वाचित छन् । वडाध्यक्ष दुखरण यादवले मन्त्रीलाई नै मुआब्जा बुझाएर उपभोक्ता समिति बनाउन मानिस आएपछि आफूले थाहा पाएको बताए । तर ठेकदार दोस्रो पटक नआएको उनले बताएका छन् । अत्यन्त सक्रिय र राम्रो प्रभाव भएका युवा नेताको आफ्नै दलका मन्त्रीले योजना बिक्री गरेपछि आक्रोश बढेको छ । उनले बाहिरका मानिसले योजना किनेर काम गर्न नसक्ने दाबी गरेका छन् ।


