नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको बताए । गत मंसिरको उपनिर्वाचन र भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बनेकाले कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भएको उनले स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने, ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेरमात्र होइन, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ । अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरू मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ । कयौँ ठूला क्याम्पसमा तिसौँ वर्षदेखिका रेकर्ड तोडिएका छन् ।
युवा विद्यार्थीहरू अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’ उनले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरूले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए । अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको तराई मधेश जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाएको बताए ।


