सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ।
शुक्रबारको सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमुना भएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक बजरंगी बाबा भनिएका व्यक्तिलाई कारबाही गर्न सांसदहरूले माग गरेका छन्।
नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरे।
उनले भने, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ। अध्यक्षलगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस्।’
‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्वारा दलितको घर भत्काइएको छ। यो घटनाको सरकारले तुरुन्त छानविन गरोस्।’
राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घटना निन्दनीय भएको भन्दै छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे।
समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उनले बताए।
बैठकमा बोल्ने प्रायः सबै सांसदहरूले उक्त घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरूले उल्लेख गरे।


