अपडेट 
२०७७ बैशाख ६, शनिबार १६:०६

जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरधाममा सुविधा सम्पन्न आइसोलेसन वार्डको निर्माण कार्य थालिएको छ । नेपालमा समेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सावधानी अपनाउनका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेसन वार्डको निर्माण कार्य युद्ध स्तरमा भईरहेको छ ।

प्रादेशिक अस्पतालमा ईमरजेन्सी सर्भिस मात्रै चालु रहेको अवस्थामा इसेन्सियल सर्भिस समेत दिनु पर्ने आवश्यक रहेको भन्दै सघिय सरकारले तीन दिन पहिला मात्रै आइसोलेसन वार्ड निर्माण गर्न पत्र पठाएको थियो । सो आइसोलेसनमा कोरोनाको लेभल २सम्मको जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार गरिने छ । संघ सरकारले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा कोरोना लेभल १ र जनकपुरधामस्थित प्रादेशिक अस्पताल तथा वीरगंजस्थित नारायाणी अस्पतालमा कोरोना लेभल २ सम्मको उपचार गर्ने निर्णय गरेको हो । प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जामुन सिंहले नेपाल सरकारको निर्देशन अनुसार प्रादेशिक अस्पतालमै सुविधा सम्पन्न आइसोेलेसन वार्डको निर्माण गर्न निर्देशन दिएपछि सोको निर्माण कार्य भईरहेको जानकारी दिए ।

उनका अनुसार प्रादेशिक अस्पतालको प्राङ्गणमै रहेको नर्सिंग क्याम्पसको छात्रावासलाई आइसोलेसन वार्डको लागि तयार पारिदैछ । छात्रावासमा ५० शैयाको आइसोलेसन वार्ड तयार पारिदैछ । यसको निर्माण जति छिटो चाँडै सम्पन्न गरेर जानकारी गराउन निर्देशन आएको डा. सिंहले बताए । निमित्त मेसु सिंहले आइसोलेसन वार्ड बाहिर संक्रमण फैलिन नदिनका लागि झ्यालहरुलाई एयर ब्लक, प्रत्येक कोठामा एसी लगाउने, ठाउँ ठाउँमा सीसीटिभी लगाइने बताए ।

जटिल प्रकृतिका बिरामीहरुलाई सीसीटिभीबाटै निगरानीमा राखिने उनले बताए । छात्रावासमा आइसोलेसन वार्ड स्थापना गर्दा स्थानीयको बिरोध जनकपुरधामस्थित प्रादेशिक अस्पतालको हाता भित्रै रहेको नर्सिंग कलेजको छात्रावासमा आइसोलेसन वार्डको निर्माण हुन लागेपछि स्थानीयवासीले बिरोध जनाएका छन् । घनावस्तीको बिचमा रहेको छात्रावासलाई आइसोलेसन वार्डको रुपमा परिणत गर्नै लाग्दा जनकपुरधाम वडा नम्बर १०का स्थानीयवासीहरु बिरोध जनाएका छन् ।

जनकपुरधाम १०का स्थानीय युवा सुशिल कर्णले सरकारले यहाँ आइसोलेसन वार्ड छात्रावास निर्माण गर्ने निर्णय गरेर अपरिपक्व निर्णय गरेको आरोप लगाए । उनले यहाँ आइसोलेसन वार्ड निर्माण गर्दा पूरै टोलमा संक्रमण बढ्न सक्ने डर रहेकोले यसलाई घनावस्ती बाहिर निर्माण गर्न सुझाव दिएका छन् । स्थानीय जिवेश झाले विकल्पहरु हुँदा हुुँदै घनावस्तीको बिच आइसोलेसन वार्ड निर्माण गर्नु आफूहरुलाई मान्य नरहेको बताए । उनले अव्यवस्थित हिसाबले गरिदै आएको यो निर्माण कार्य हाम्रो पूरै वडालाई खतरामा पुर्याउन सक्ने तर्फ सचेत हुन सम्बन्धित निकायलाई आग्रह गरे ।

यता स्थानीयहरुको बिरोधलाई निमित्त मेसु डा. जामुन सिंहले स्वाभाविक रुपमा लिएका छन् ।

यद्यपि स्थानीयको सुरक्षालाई ध्यानमा राखेर नै निर्माण कार्य भईरहेको उनले दावी गरे । छात्रावास नजिकै रहेको दुई वटा घरको मालिकलाई छात्रावास तर्फको झ्याल ढोका नखोल्न आग्रह गरि सकेको उनले जानकाररी गराए । डा. सिंहले छात्रावास नजिकै रहेको बाटोलाई प्रत्येक दिन सेनिटाइज गर्ने हाम्रो योजना रहेको समेत बताए ।

Comment


Related News

Latest News

Trending News