धनुषाको धनुषाधाम नगरपालिका– २ का योगेन्द्र ठाकुरको साउन १२ गते कुटपिटबाट हत्या भएपछि उनकी श्रीमती अहिले काठमाण्डुस्थित सिंहदरबार धाउँदै छिन् । न्यायका लागि उनी पटकपटक सिंहदरबारमा गुहार लगाउन श्रीमती श्यामु ठाकुर पुगिन् । उनीहरूमाथि मिटरब्याजी शिवजी यादवको समूहले आक्रमण गरेको पीडित श्यामुको भनाइ छ ।
पीडित ठाकुर परिवारले शिवजी यादवबाट साढे ३ लाख ऋण लिएको थियो । साढे ३ लाखको ९ लाख रुपैयाँ फिर्ता गरिसक्दा पनि मिटरब्याजबाट मुक्ति पाउन नसकेकी उनले श्रीमान् पनि गुमाइन् । योगेन्द्रको हत्यापछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा आठबुँदे सहमति भएको थियो ।
सो सहमति कार्यान्वयन गराउन ठाकुर देहातबाट सिंहदरबार आइपुगेकी छन् । बुधबार अपराह्न उनी उपसभामुख इन्दिरा रानामगरको कार्यकक्षमा थिइन् । घटनाका बारेमा ब्रिफिङ गर्ने र सहमति कार्यान्वयनका लागि दबाब दिन अभियन्ता छेदिलाल पासवान र विनोद राम सँगै उनी पनि उपसभामुखको कार्यकक्षमा पुगेकी थिइन् । उनलाई आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने भनेर रानामगरले आश्वस्त पारिन् ।
मौखिक जानकारीपछि समिति सभापति रामहरि खतिवडाले धनुषामा प्रशासनमा के भएको भनेर जानकारी लिए । मृतक योगेन्द्रको जिउँदै आँखा निकालिएको, नाक काटिएको, मेरुदण्ड काटिएको थियो । मिटरब्याजी यादवबाट ३ लाख ५० रुपैयाँ ऋण लिएका थिए । ३ लाख ५० हजारको ९ लाख तिरिसक्दा पनि ऋणबाट मुक्ति पाएका छैनन् ।
दुई कट्ठा जमिन पनि यादवले कब्जा गरेका छन् । योगेन्द्रको कुटपिटबाट हत्या भएको विरोधमा मिटरब्याजपीडित संघर्ष समितिले आन्दोलन गरेको थियो । १८ साउनमा समिति र स्थानीय प्रशासनबीच आठबुँदे सहमति भएको थियो ।
हत्या आरोपी मिटरब्याजी शिवजी यादवलगायतलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, कुटपिटबाट घाइते योगेन्द्रकी श्रीमती श्यामु ठाकुरको निःशुल्क उपचार गर्ने र उनलाई रोजगारीको व्यवस्था मिलाउने सहमति भएको थियो ।


