महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालामा विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा कार्यालयबाट हुने कामकाज प्रभावित भएको छ । कामकाज प्रभावित हुँदा स्थानीय सेवाग्राहीलाई दिनहुँ समस्याका कारण सास्ती भोग्न बाध्य छन् ।
प्रमुख तेजनारायण झाको अनुपस्थितिका कारण नागरिकता, राहदानी, र राष्ट्रिय परिचयपत्र वितरणलगायतका कामकाज प्रभावित हुँदै आएको छ । कार्यालय प्रमुखको अनुपस्थितिका कारण नागरिकता प्रमाणपत्र जारी गर्न नसक्दा सेवाग्राहीले तीनदेखि पाँच दिनसम्म पटक– पटक धाउनुपर्ने बाध्यता रहेको छ ।
सोनमा गाउँपालिका–५ का शिवशंकर साहले पाँच दिनदेखि नागरिकता बनाउन प्रयास गरे पनि अझै प्राप्त गर्न नसकेको गुनासो पोख्नुभयो। त्यस्तै, जिल्लाको औरही नगरपालिका–२ की प्रियंका यादवले चार दिनदेखि कार्यालय धाउँदा पनि नागरिकता प्राप्त गर्न नसकेको बताइन । जिल्लाको औरही–३ का काजल कुमारी र अरुण यादवले पनि तीन दिनदेखि प्रयास गर्दा नागरिकता प्राप्त गर्न नसकेको गुनासो गरे ।
जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले इलाका प्रशासन कार्यालय गौशाला प्रमुखविहीन रहेको स्वीकार गरेका छन् । कार्यालय प्रमुख झाले फागुनमा राजीनामा दिएपछि चैत १ गते स्वीकृत भएको जानकारी दिए । उनले कार्यालयमा कर्मचारी अभाव रहेको र कार्यभार अत्यधिक भएकाले सेवा प्रवाहमा ढिलाइ भइरहेको बताएका छन् ।
इलाका प्रशासन कार्यालयमा एक प्रमुख, दुई नायब सुब्बा, दुई कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर, र एक लेखापालको दरबन्दी रहेको छ । हाल कार्यालय प्रमुख नहुँदा पाँच पालिकाका २६ वडाका नागरिकलाई सेवा दिन कठिनाइ भइरहेको छ । सेवा प्रवाह ढिलो भए पनि पूर्णरूपमा बन्द नभएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले सामान्य प्रशासन मन्त्रालयलाई गौशाला प्रशासन कार्यालयको समस्याबारे जानकारी गराइसकेकाले कार्यालय प्रमुख चाँडै पठाउन अनुरोध गरिसकेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार निकट भविष्यमा कार्यालय प्रमुखको नियुक्ति हुने र सेवा प्रवाह सहज हुने छ ।


