अहिले मुलुक दुई कित्तामा विभाजित छ । पश्चगामी कित्तावालाहरु भन्छन्– ‘राजा आउ, देश बचाउ’ । संघीय गणतन्त्र कार्यान्वयन हुन कानुनसम्म बनाइ नदिने कथित गणतन्त्रवादीहरु भन्छन्– चिहानबाट मुर्दा फिर्ता आउँन सक्दैन । राजा अब तासको पत्तामामात्र सिमित छ । यी द्विविधाबीच म भन्छु– ‘गोपालवंशी, महिषपालवंशी, कर्णाटवंशी वा सेनवंशी राजा आउ मिथिला–तराई–मधेशका मूलवासीहरुको मान बढाउ ।’ सुन्दा अचम्म लाग्न सक्ला– राजा र गणतन्त्रवादी दुबैलाई तर कुनै वाद विशेषको चश्मा नलगाइ हेर्ने हो भन्ने सन् २१ अगस्ट १७६२ (वि.सं.१८१९) को दिन गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नै ससुराली राज्य मकवानपुरमाथि आक्रमण गर्नु पूर्व जनकपुरधाम क्षेत्र मकवानपुर राज्य अन्तर्गत थिए ।
पृथ्वीनारायण आफ्ना साखै जेठाजु दिग्बन्धन सेन र व्याहिता प्रथम धर्मपत्नी इन्द्रकुमारीलाई चरम यातना दिँदै कारागारमा राखेका थिए । पृथ्वीनारायणको विजयी अभियानसंगै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहित सिंगै मिथिलाञ्चल मकवानपुर राज्यमा समाहित भएको थियो । फलाम जस्तो बलियो शरीर भएको कारण लोहांग नामकरण गरिएको लोहांग सिंह महोत्तरीका तत्कालीन राजा मोहन ठाकुरलाई पराजित गरी यस क्षेत्रमाथि कब्जा जमाएका थिए ।
त्यतिवेला मकवानपुर राज्यको सिमाना पूर्वमा महानन्दा नदी, पश्चिममा अदिया नदी, उत्तरमा महाभारत पहाड तथा दक्षिणमा तिरहुत सरकार र पूर्णिया क्षेत्रसम्म फैलिएको थियो । मकवानपुर राज्यका अर्का राजा इन्द्रविधाता वा इन्दुविधाता सेन (सन् १६७२–१७०६) जो छत्रपति सेनका छोरा तथा हरिहर सेनका पौत्र थिए । उनले जनकपुरधामस्थित राम जानकी मन्दिरका महन्त चतुर्भुज गिरीलाई फसली सम्वत १११४(सन् १७०६ वा १७०७) मा कुशबिर्ता मार्फत १४०० विघा जग्गा भूदान दिएका थिए । यसै जग्गामाथि आधुनिक जनकपुरधामको निर्माण भएको हो । अब थोरै कुरा गरौं मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनको ।
वि.सं. १८१६ मा हेमकर्ण सेनको मृत्युपछि दिग्बन्धन सेन मकवानपुरको राजा भएका थिए । उनी राजा भएको दुई वर्ष नबित्दै पृथ्वीनारायण शाह मकवानपुरमाथि आक्रमण गरेका थिए । युद्धमा पराजित भएपछि उनलाई नजरबन्द गरिएको थियो । नजरबन्द अवस्थामै उनको मृत्यु भएको इतिहासकारहरुको एक समूहको दाबी छ ।
प्राध्यापक दिनेशराज पन्तका अनुसार वि.सं. १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह दिग्बन्धन सेनकी बहिनी इन्द्रकुमारीसँग भएको थियो । जेठाजु दिग्बन्धन सेनले पृथ्वीनारायण शाहले मांगेको नौलखा हार र एकदन्ती हाती दाइजो नदिएको कारण पृथ्वीनारायण शाहले पहिलो श्रीमतिलाई मकवानपुरमै छाडि दिएका थिए । दाइजो नदिएकै कारण मकवानपुर राज्यमाथि कब्जा गरी जेठाजु, पहिलो श्रीमतिसमेतलाई कारागारमा राखेका थिए । जहाँ उनिहरुको दुःखद मृत्यु भएको थियो ।
बिडम्बना के पनि छ भन्ने नेपाली इतिहासकारहरुले पृथ्वीनारायण शाहलाई नायक प्रमाणित गर्न शाहकी पहिलो ब्याहिता श्रीमति इन्द्रकुमारीको विषयमा लेख्दै लेखेनन् । सम्भवतः यसै कारणले भनिएको होला– इतिहास विजेताको लेखिन्छ । मकवानपुरे सेन राजवंश दक्षिण भारतीय चालुक्य राजवंशी सोमेश्वर प्रथम (अनुमानित सन् १०४२–१६८) का छोरा बिक्रमादीत्यले बंगालमाथि आक्रमण गर्दा सेनहरुसेनाका प्रमुख पदमा कार्यरत थिए । युद्ध पश्चात् राजा र उनका सेनाहरु आफ्नो थाक थलो फर्केपनि सेनहरु भने बंगाल र पूर्वी नेपालको तराईमा घरजम गरेका थिए ।
बंगालका यिनै सेनहरुमध्येएक थिए– मुकुन्द सेन प्रथम । जसले सप्तरी जिल्लाको रुपनगरमा ईशाको तेह्रो शताब्दीतिर बसोवास गरेका थिए । पछि, स्थानीय मगरहरुको सहयोगमा उनले मकवानपुर राज्य स्थापना गरेका थिए । यिनै मुकुन्दसेन मकवानपुरका राजा भए र आफू शासक रहेको राज्यको नामाकरण आफ्नै नामबाट ‘मकवानपुर’ गरेका थिए । यो राज्य पश्चिममा राजपुर, तनहु, लाम, प्युठान, मदरिया, दार्छा, रिसिंग, विनायकपुर, गुल्मी तथा पाल्पासम्म फैलिएको थियो । मकवानपुरे सेन राजाहरु आफूलाई हिन्दुपति भन्दथे ।
मिथिला संस्कृति अनुसार राज्य संचालन गर्दथे । इतिहासकार हरिकान्त लाल दासका अनुसार, मकवानपुरको सरकारी कामकाजको भाषा मैथिली थियो । वि.सं.१७८४ मा मानिक सेनले जनकपुरका सन्त राम दासलाई दिनु भएको कुशविर्ता सम्बन्धी लिखतको भाषा मैथिली छ । जसमा भनिएको छ–
स्वस्ति श्रीरुपनारायणत्यादिवीवीधवीरुद्रावली वीराजमान मानोन्त श्रीमहाराजाधिराज श्रीश्रीमन मानीक शेन देवानाम सदाशमरविजैनाम….
श्रीगोशाइ रामदाशके प्रंगना कोराडीमध्ये जनकपुरपट्टी वेलाहीटोला श्रीश्रीसीतारामजी के वीत्री कै दीहल एहीपर अपने खातिर जमाशै जोतथु जोतावथू तलाश तर दुदकै भोग्य करथू आशिर्वाद श्रीश्रीसीतारामजी मकहिमासे देलकरथू यस प्रकार हामी के देख्छौं भने–मकवानपुर राज्य मैथिल राज्य थियो ।
यस कालमा उमापतिले पारिजात हरण जस्ता मैथिली भाषाको उत्कृष्ट नाटक रचना गरेका थिए । आज मुलुकमा पुनः राजाको खोजी हुदै छ । जनकपुरधामको ऐतिहासिक तिरहुतीया गाछी (स्मरणीय के पनि छ भने सन् १०९७देखि १३२५सम्म बारा जिल्लाको सिम्रोनगढमा कर्णाटवंशीहरुको तिरहुत राज्य थियो ।ं)मा राजावादीहरुले आमसभा गरेर शाहवंश पुर्नस्थापना गर्ने उद्घोष गरेका थिए । तर दुर्भाग्य तत्कालीन तिर हुत र मकवानपुर राज्यको सम्बृद्ध धार्मिक स्थल जनकपुरमा राजा आउ, देश बचाउ को नारा धन्की रहेकोवेला कसैले मकवानपुरे सेन राजवंशको चर्चा गर्नु भएन ।
हुनत आजको युगमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । र पनि कसैलाई राजा आउ देश बचाउ भन्नु नै छ भन्ने म पनि भन्न चाहन्छु– राजा आउ, मान बढाउ । त्यो राजा नेपालका प्रथम राजवंश गोपाल वंशी हुनु पर्दछ । महिषपाल वंशी हुनु पर्दछ अथवा मध्यकालका कर्णाटवंशी वा सेन वंशी हुनु पर्दछ ।


