२०८२ बैशाख १, सोमबार १५:५६

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले जबाफदेही (जिम्मेवारी) लिनुपर्ने बताएका छन्।

तीनकुने घटनामा पूर्वराजाले नैतिक रूपमा जबाफदेही लिनैपर्ने ज्ञवालीको भनाइ छ।

‘उहाँले नैतिक रूपमा जबाफदेही त लिनैपर्छ। किनभने फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ देऊ भनिसकेपछि र चैत १४ गते कमान्डर (दुर्गा प्रसाईं) र त्यसअघि संयोजक (नवराज सुवेदी) तोक्नुभयो अनि भिड भनेर लागिसकेपछि यो घटना भएको भनेपछि जबाफदेही त लिनुपर्‍यो नि त,’ सोमबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले भने। उनले तीनकुने घटनाका विषयमा सरकारले अनुसन्धान गरिरहेको पनि बताए। ‘अनुसन्धानबाट प्रमाणित भएको हदसम्म जो-जो मानिस जिम्मेवार छन् उनीहरूलाई कानुनी दायरामा ल्याउँछ,’ उनले भने।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु, निजी र सरकारी गाडी तथा जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।

पूर्वराजा शाहले भने नयाँ वर्षका अवसरमा दिएको शुभकामना सन्देशमा तीनकुने घटनाप्रति दु:ख व्यक्त गर्दै त्यो जनतामा आएको जागरणका रूपमा लिएका थिए। पूर्वराजाले आपराधिक घटनालाई जागरणका रूपमा लिएकोमा एमालेले आपत्ति जनाएको छ।

Comment


Related News

Latest News

Trending News