
मुख्यमन्त्री सतीशकुमार सिंहले संघीयतामाथि भइरहेको षड्यन्त्रविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । धनुषको लालगढमा बिहीबार मधेश प्रदेशसभा सचिवालयको आयोजनामा सातै प्रदेशका उपसभामुखहरूको तीन दिने सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री सिंहले संघीयता स्थापना भएको करिब ८ वर्षको अवधिमा धेरै कामहरू भएको उल्लेख गरे ।
उनले अहिले गाउँ गाउँमा विकास निर्माणको क्षेत्रमा गति आउनुका साथै शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रहरूमा पनि ठूलो परिवर्तन भएको बताए । मुख्यमन्त्री सिंहले सातै प्रदेशका उप–सभामुखहरूको सम्मेलनबाट संविधानको कार्यान्वयन तथा संघीयतालाई बलियो बनाउनका लागि ठोस् निर्णय लिने आशा व्यक्त गरे । संघीयताको लागि मधेश प्रदेशले अगुवाइ गरेर धेरैले शहादत दिएको स्मरण गर्दै सुशासन, विकास तथा समृद्धिका लागि पनि मधेश प्रदेशले अगुवाइ गर्न जरुरी रहेको बताए ।
उनले संघीयता बढी खर्चिलो भएको र जनताको कुनै काम नभएको भ्रामक प्रचार गर्नेलाई काम गरेर देखाउने बेला आएको भन्दै सुशासन तथा विकासका लागि व्यवस्थापिकाले सधैँ खबरदारी गर्न जरुरी रहेको बताए । सभामुख रामचन्द्र मण्डलले संघीयताको कारणले अहिले गाउँ गाउँमा विकासको लहर आएको भन्दै यस अवधिमा भएका विकास निर्माणसहितको विषयमा प्रभावकारी प्रचारप्रसार गर्न जरुरी रहेको बताए । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संघीयताको आधार भूमिको रुपमा रहेको मधेश प्रदेशले पहिलो पटक उपसभामुखहरूको सम्मेलन गरेर निक्कै सराहनीय कार्य गरेको बताए ।
संविधान तथा प्रशासन विद् काशीराज दहालले सबै प्रणालीको मूल लक्ष्य नै सुशासन, समृद्धि र विकास रहेकाले त्यसमा नै सबै पक्ष एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । मधेश प्रदेशका उपसभामुख बबिता राउत इशरको अध्यक्षतामा भएको सो तीन दिने सम्मेलनमा कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, बागमती प्रदेशका अप्सरा चापागाईँ, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनी प्रदेशका मेनुका खाँड केसी, कर्णाली प्रदेशका यशोदा न्यौपाने र सुदूरपश्चिम प्रदेशका उपसभामुख कोईली देवी चौधरीलगायतको सहभागिता रहेको जनाइएको छ ।
यस्तै मुख्यमन्त्री सिंहले राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका उपसभामुखहरूलाई आफ्नो कार्यकक्षमा स्वागत तथा सम्मान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले उपस्थित अतिथिहरूलाई खादा लगाई सम्मान गरेका थिए । यस अवसरमा जनकपुरधाममा आयोजित विशेष सम्मेलनमा सहभागी उपसभामुखहरूले संसदीय अभ्यासमा आफ्नो भूमिका तथा नीतिगत सुधारका विविध पक्षमा अनुभव आदानप्रदान गरेका थिए । सम्मेलनको उद्देश्य उपसभामुखहरूको भूमिकालाई अझ प्रभावकारी, फराकिलो र समन्वयात्मक बनाउनु रहेको थियो ।