
पर्साको वीरगञ्जमा शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजनाविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव मुद्दा दर्ता भएको जनाइएको छ ।
शोभायात्राको क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजनाविरुद्ध राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जनाए । प्रहरी उपरीक्षक मिश्रका अनुसार शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई,शकिल मियाँ,रवि सर्राफ र बलजित सिंहविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रवको मुद्दा दर्ता भएको हो।
मंगलबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको छ । शोभायात्रा वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयामा पुगेपछि दुई फरक धार्मिक समुदायकाबीच झडप हुनुका साथै त्यहाँको पसल, सवारी, साधनलगायतमा तोडफोड र आगजनी भएको थियो । सो घटनाको अनुसन्धानमा जुटेको पर्सा प्रहरीले बुधबारसम्म पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
उनका अनुसार तीनजनाविरुद्ध ‘राज्यविरुद्धको कसुर’ र बाँकी दुईजनाविरुद्ध ‘ आपराधिक उपद्रव’सम्बन्धी मुद्दा दर्ता गरिएको छ । पाँचैजनामाथि बुधबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको लम्सालले बताए । पर्सा प्रहरीले शनिबार भएको घटनास्थलको सीसीटीभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो सामग्री र प्रमाणका आधारमा अहिलेसम्म पाँचजनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक मिश्रले बताए । उनले भने, ‘यस घटनासँग जोडिएका प्राप्त प्रमाणका आधारमै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको जनाइएको छ ।