२०८२ बैशाख ८, सोमबार ०७:२३

धनुषाको बटेश्वरमा सार्वजनिक इनारबाट निकाल्न गएका खानेपानीबाट वञ्चित गरिएको आरोप लगाएको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका–५ का रामपुजन यादव घर नजिकै रहेको सार्वजनिक इनारबाट खानका लागि पानी तान्न आइतबार मोटर लगाउने सुरसारमा थिए । तर यादवले भने सो सार्वजनिक इनारमा मोटर लगाउन पाएनन् । पानी तान्ने मोटर इनारमा लगाउन जाँदा यादवलाई सार्वजनिक इनारका लागि जग्गा दान दिएका बटेश्वर गाउँपालिका वडा– ४ का रामसेवक साह र उनका घरपरिवारले रोक्दै मोटर फालिदिए । यो इनारमा मोटर लगाउन पाइँदैन, डोलबाल्टिन लिएर पानी तानेर खाउ, हामी रोक्दैनौ भन्दै साहले मोटर लगाउन दिएन यादवले दुखेसो पोखे ।

बटेश्वर गाउँपालिकाको गाउँसभाबाट आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत वडास्तरीय कार्य योजना अन्तर्गत वडा नं. ४ मा जयनाथ घर छेउमा रामसेवक साहु सुडीले ईनार खन्न तीन धुर नम्बरी जग्गा दियो र सार्वजनिक ईनार खनियो । इनारबाट हाल करिव एक दर्जन घरपरिवारले मोटर लगाएर पानी खाई रहेका बटेश्वर गाउँपालिकाको मिति २०८१ मंसिर १८ गतेको पत्र संख्या २०८१÷८२ चलानी नं. ४९९ को पत्रमा उल्लेख रहेको छ ।

वडाध्यक्ष निरज कार्कीद्वारा जारी सो पत्रमा साविक बटेश्वर गा.वि.स. वडा नं. ५ क को किता नं. ९७० क्षेत्रफल ०–६–०–० जग्गा मध्ये ०–०–३–० जग्गा आफूखुशी सार्वजनिक इनार निर्माण गर्न उपलब्ध गराएको र खनिएको सो इनारबाट हाल गा.पा. वडा नं.४ र ५ का एक दर्जन घरपरिवारले पानी खाइरहेको उल्लेख छ । तर इनारका लागि जग्गा दिएका साहले वडा नं. ४ को लागि मात्र पालिकाबाट सो इनार दिएको र खनिएकोले वडा नं. ५ का वासिन्दालाई मोटर लगाएर पानी खान नदिने बताए ।

सो इनारका पानी खानु छ, भने डोल बाल्टिन लिएर तान्नु पर्छ, मोटर लगाउन दिदैँनौँ भन्दै मोटर लगाउन गएको वडा नं. ५ का रामपुजन यादवको मोटर इनारमा खसाल्न नदिएर पर फालिदिएको बताए । यस विषयमा पटक पटक विवाद र छलफल हुँदै आए पनि सार्वजनिक इनारमा यादवले भन्ने मोटर लगाउन पाएका छैनन् ।

विवाद बढ्दै गएपछि गाउँपालिकाको न्यायिक समितिमा यादवले सार्वजनिक इनारबाट पानी पिउने व्यवस्था मिलाई पाउँ भन्दै जग्गाधनी साह र स्थानीय जयनाथ यादव विरुद्ध दिएको उजुरीमा स्थलगत निरिक्षण र सुनवाई गर्दै सो इनारमा बलजवरजस्ती पानी पिउन मोटर लगाउने कार्यलाई न्यायिक रहेको मान्न नसकिने भन्दै अन्य व्यक्ति सरह नै इनारको मर्मत सम्भार, पानी सफा गर्ने, औषधी हाल्ने लगायत कार्यको लागि वार्षिक रुपमा शुल्क तिरेर पानी खानलाई मोटर लगाउन दिने निर्णय मिति २०८१ कार्तिक १३ गतेमा गरेको पत्रमा उल्लेख छ ।

गाउँपालिकाको न्यायिक समितिको निर्णय अनुसार आफु वार्षिक शुल्क तिर्ने कबुल गर्दा पनि आफुलाई इनारमा मोटर लगाउन नदिएको यादवको दाबी छ । न्यायिक समितिको निर्णय नमान्दा आफु बाध्य भएर उच्च अदालत जनकपुरमा साह विरुद्ध निवेदन दिएको उनले बताए । उच्च अदालतबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई सो सार्वजनिक इनारबाट अन्य व्यक्तिले उपभोग गरे सरह पानीको उपभोग गर्न वञ्चित नगर्नु नगराउनु भनेर विपक्षीहरुको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम अन्तरिम आदेश दिएको २०८१ पौष ४ गतेको उच्च अदालत जनकपुरको आदेश पत्रमा उल्लेख छ ।

पीडित यादवका अनुसार विपक्षी साहले उच्च अदालतको आदेशलाई समेत अवहेलना गर्दै हालसम्म पनि आफुलाई सो सार्वजनिक इनारबाट मोटर लगाएर पानी खान नदिएको आरोप छ । उनले अदालतको आदेश कसले कार्यान्वयन गराई दिन्छ भन्दै प्रश्न पनि गरे । प्रहरीलाई गुहार्दा पनि केही सुनवाई नगरेको यादवले गुनासो गरे । उनले आफु नेपाली कांग्रेस पार्टी निकट भएको र विपक्षी नेकपा एमाले निकट भएकाले राजनीतिक दाउपेच गरेर आफुलाई पानी खानबाट वञ्चित गरिएको बताए ।

यता सार्वजनिक इनार खनिएको जग्गाधनी साहले आफुले कहिले पनि यादवलाई ईनारको पानी खान नरोकेको बताए । उनले यो इनार वडा नं. ४ का व्यक्तिको लागि खनिएकोले वडा नं. ५ का घरधुरीलाई आफुखुशी पानी खान दिने बताए । यादवलाई पनि पानी खान रोकेको छैन तर डोल, बाल्टिन लिएर मात्र पानी तान्न दिने उनको अडान छ ।

आफुले कुनै पनि राजनीतिक दाउपेच नगरेको र यादवले आफुलाई पटक पटक थर्काएर बलजवरजस्ती मोटर लगाउन खोजिएकाले रोकिएको साहको भनाइ छ । सो इनारमा दुवै वडाका आधा दर्जन भन्दा बढी मोटर लगाएर पानी खाई रहेका स्थानीयहरुले बताएका छन् । सुग्जोर बटेश्वर सडक खण्डमा पर्ने सो टोल सडक उत्तर वडा नं. ४ र सडक दक्षिण वडा नं. ५ पर्छ ।

सो टोलमा ईनारको संख्या कमै रहेको र पुराना चापाकलहरु कतिपय सुकेको र कतिपयमा पानी कम भएकाले खानेपानीको समस्या बढ्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News