२०८२ बैशाख ८, सोमबार ०८:०६

मधेश प्रदेश सरकारले पठाइएका विकास निर्माणको कार्य योजनाका चिट्ठीहरू सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै दुई वटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ ।

राजविराजस्थित आइतबार तालाबन्दी शिक्षा विकास कार्यालय सप्तरी र सामाजिक विकास एकाइ कार्यालयमा गरिएको छ । तालाबन्दी गर्नेहरूमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र अन्य स्थानीय राजनीतिक दलका नेता–कार्यकर्ता सहभागी रहेका थिए । उनीहरूले प्रदेश राजधानी जनकपुरधामबाटै अधिकांश कार्ययोजनाका विभिन्न चिट्ठीहरू कमिसनको आधारमा बिक्री वितरण गरिरहेको आरोप लगाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारूले भने, “अहिलेसम्म अधिकांश चिट्ठीहरू जनकपुरमै बिक्री भइसकेका छन्, बाँकी चिट्ठीहरू पनि दलालहरूले कमिसन लिएर बेच्ने तयारीमा छन् भन्ने थाहा पाएपछि हामी बाध्य भएर तालाबन्दी गरेका हौँ ।” त्यस्तै थारू कल्याणकारिणी सभाका जिल्ला सचिव मिलन लेखीले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा समेत राजनीतिक हस्तक्षेप बढेपछि शिक्षाको स्तर खस्किरहेको भन्दै राजनीतिक दलहरू नै यसको प्रमुख बाधक भएको आरोप लगाए।

उनले प्रदेश सरकारबाट आएको बजेट समयमै सदुपयोग नहुने सम्भावना देखिएकाले जनप्रतिनिधि र प्रशासन दुवै गम्भीर हुनुपर्ने धारणा राखे । यसअघि चैत २९ गते पनि खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत सामाजिक विकास एकाइ कार्यालयमा तालाबन्दी गरिएको थियो । जनमत पार्टीका संसदीय दलका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादवको नेतृत्वमा गरिएको सो तालाबन्दीमा कार्यालय प्रमुख शुशिल झामाथि जनकपुरमै कमिसन लिई योजनाका चिट्ठीहरू बिक्री गरेको आरोप लगाइएको थियो ।

स्थानीय जनप्रतिनिधि, शिक्षक संघ तथा नागरिक समाजले पनि यस विषयमा ध्यान दिन आग्रह गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News