जनकपुरधाममा रहेका सार्वजनिक शौचालय अहिले आवास गृहमा परिणत भएको छ ।
जनकपुरधाममा शौचालय अभाव रहेको कुरा दिनानुदिन चलिरहँदा सरकारले भने शौचालय निर्माणका लागि बजेट छुट्याइ काम गरिरहे पनि हालसम्म रहेका सार्वजनिक शौचालयको अवस्थाबारे बेवास्ता गर्दा शौचालय नै घर बनेको पाइएको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले झन्डै २९ लाख २२ हजार रुपैयाँ खर्चेर निर्माण गरेको सो संरचना अहिले एक सरसफाइकर्मीका परिवारले निजी आवासको रूपमा प्रयोग गरिरहेको छ । ढोकामा फलामको मोटो गेट लगाएर ताल्चा मारिएको सो भवन अहिले सर्वसाधारणका लागि पूर्णरूपमा बन्द छ । शौचालय निर्माण “जिओआइ–जिडी–०३– ०६७÷६८” प्रोजेक्ट अन्तर्गत सावित्री निर्माण सेवाले सम्पन्न गरेको थियो। तर, निर्माणपछि हस्तान्तरणको प्रक्रिया अघि बढ्दै गर्दा भ्रष्टाचारको आरोप लाग्यो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।
विशेष अदालतले दिगम्बर राय (अध्यक्ष), सूर्यदेव साह (कार्यकारी निर्देशक), उषा मिश्र (नासु), उत्तमराज शर्मा ढकाल (लेखापाल) र इञ्जिनियर राजेश्वर साहलाई दोषी ठहर गरेको छ । सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको भने अदालतले संरचना “यथास्थितिमा राख्न” आदेश दिएको थियो ।
हाल सो भवनमा सरसफाइकर्मी दिपक मलिक आफ्नी पत्नी र दुई छोराछोर ीसहित स्थायी रूपमा बसोबास गर्दै आएका छन् । सो भवनको छेउमा बाँसबारीको पर्खालसँग टाँसिएको जग्गामा निर्माण कार्य भइरहेको छ । धनुषा धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले हामीले डेढ कठ्ठा जग्गा लिजमा लिएका हौँ र प्रदेश सरकार तथा उपमहानगरको सहयोगमा विवाह मण्डप तथा सभा हल बनाउँदैछौं।
शौचालय रहेको संरचनासँग हाम्रो कुनै सरोकार नरहेको बताउँन् । स्थानीय बासिन्दा रामपुकार साहले खुला भ्रष्टाचार रहेको बताए । उनले जनताको पैसाले बनेको भवनमा निजी रूपमा कोही बसिरहेको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै, स्थानीय महिला समूहकी प्रतिनिधि सुनिता साहले भनिन्, “हामी महिलाहरू सार्वजनिक स्थानमा शौचालयको अभावमा समस्यामा छाँै । सरकारको योजना अन्तर्गत बनेको संरचना नै निजी आवास बनेको छ भने यो अत्यन्त लाजमर्दो अवस्था छ ।”


