२०८२ बैशाख ११, बिहीबार ०७:५३

सर्लाही चन्द्रनगर गाउँपालिकाकी २४ वर्षीया मुसहर समु सदायकी रंगितादेवी उपचार खर्च तिर्न नसक्दा वीरगञ्जस्थित नेसनल मेडिकल कलेज अस्पतालमै बन्धक बनेकी छन् । पेटको शल्यक्रिया गराउन गएकी रंगितादेवीकी पति विजय एक सातादेखि खर्चको जोहो गर्न घर गएका छन् ।

तर उनी अहिलेसम्म अस्पतालमा फर्किएर आएका छैनन् । अस्पतालमा करिब ४४ हजार रुपैयाँ र औषधि पसल एलाइन्स फर्मालाई १ लाख १४ हजार १ सय ८३ रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ । हाल अस्पतालको सर्जरी वार्डको बेड नम्बर १५ मा रंगिता पतिको प्रतीक्षामै बसेकी छिन् । रंगिताकी पति विजय दैनिक ज्याला मजदुरी गर्ने गर्छन् ।



१ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम आफूहरुको क्षमताभन्दा बाहिर रहेको उनले बताइन् । यसअघि अस्पताल र औषधोपचारमा करिब १ लाख रुपैयाँ नगद खर्च भइसकेको उनले बताइन् । चैत ११ गते रंगिताको पेटमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले चैत १३ गते उनको पेटको शल्यक्रिया गरेका थिए ।

सर्जिकल वार्डकी इन्चार्ज नर्स दुर्गा चापागाईंले रंगिताको पेटको ‘एक्सप्लोरेटरी ल्याप्रोटोमी’ गरिएको बताइन् । पेटको आन्द्रामा समस्या देखिएपछि पेट खोलेर यस्तो शल्यक्रिया गरिन्छ । शल्यक्रियापछि ‘ आइल्स्टोमी’ गरेर उनको पेटमा बन्ने दिसालाई पेट बाहिर प्लास्टिकको थैलीमा जम्मा गरिएको छ ।

करिब ५/६ महिनापछि फेरि अर्को शल्यक्रिया गरेर हाल बाहिर राखिएको पेटको आन्द्रालाई पेटभित्रै राखिनेछ । रंगितालाई डिस्चार्ज गरेर घर लग्न सकिने भएपनि उनको अस्पतालकै बक्यौता करिब ४४ हजार रुपैयाँ रहेकाले डिस्चार्ज गर्न नसकिएको चापागाईको भनाइ छ । कुरुवा बसेकी रंगिताकी दिदी सुनैना देवीले आफू पनि बहिनी ज्वाइँकै प्रतीक्षामा रहेको बताइन् । औषधि पसलेले आफूलाई दैनिकजसो ताकेता गरिरहेको र आफू नाजवाफ हुने गरेको उनले बताइन् ।

Comment


Related News

Latest News

Trending News