२०८२ बैशाख १२, शुक्रबार ०७:२७

दोहोरो नागरिकतासम्बन्धी १ सय ३७ मुद्दा तीन दशकभन्दा लामो समयदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा थन्किएको छ ।

भारतीय नागरिकहरुले नेपालको समेत नागरिकता लिएको सम्बन्धमा परेका उजुरीका आधारमा पर्सा जिल्ला प्रशासन कार्यालयले सो मुद्दालाई आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई मुद्दाका मिसिल हस्तान्तरण गरेको थियो । तर पर्सा प्रहरीले पनि सो मुद्दामा आवश्यक अनुसन्धान नै नगरी थन्क्याइएको छ ।

दुई देशबीचको धार्मिक तथा सामाजिक पारस्परिक कानुनी सहायता सन्धि नहुँदा आरोपित व्यक्तिहरु भारतीय हुन् वा होइनन् एवं उनीहरुले दोहोरो नागरिकता लिएका छन् वा छैनन् भन्ने सम्बन्धमा नेपाल प्रहरीले भारतीय प्रहरीबाट औपचारिक रुपमा कुनै पनि सूचना वा जानकारी पाउन नसकेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

सो मुद्दामा असीमित हदम्याद हुने भएकाले आरोपित व्यक्ति जहिले पनि कारबाहीको दायरामा आउन सक्ने उनको भनाइ छ । १ सय ३७ मुद्दामध्ये २०७७÷०७८ मा मात्रै ६० वटा मुद्दा दर्ता भएको डीएसपी लम्सालले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्ता मुद्दामा भारतीय दूतावासलाई सोध्दा जवाफ नआउने गरेको बताए ।

भारतबाट आधिकारीक रुपमा जानकारी आइदिएमा आरोपित व्यक्तिले दोहोरो नागरिकता लिएको प्रमाणित भएर त्यस्तो नागरिकता बदर हुने र भारतीयलाई नागरिकता दिने अधिकृतलाई पनि कारबाहीको दायरामा ल्याइने प्रजिअ अर्याल बताए । यस्ता मुद्दामा जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक छानबिन गरी जिल्ला प्रहरी कार्यालयलाई नै मुद्दा पठाउने गरिएको उनले बताए ।

वीरगञ्जमा मधेश आन्दोलनपछि नागरिकता वितरण गर्दा अधिकांश भारतीयले नागरिकता लिएको गुनासो जनगुनासो आउने गरेको छ । कतिपय यस्ता व्यक्तिउपर छरछिमेक तथा व्यक्तिगत रुपमा कुनै विवाद भएका व्यक्तिहरुले उजुरी दिने प्रचलन भने बढ्दै गएको छ । तर अधिकांश दोहोरो नागरिकता लिएकाहरु अझै कारबाहीको दायरामा आउन नसकेको उनीहरुले बताउने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News