धनुषाको शहीदनगर नगरपालिका–५ मा एकै परिवारमा घटेको विष सेवनको हृदयविदारक घटनामा मृत्युसँग संघर्ष गरिरहेकी आमाको पनि मृत्यु भएको छ।
सोमबार आफ्ना तीन सन्तानसहित विष सेवन गरेकी भनिएको २८ वर्षीया पविता कुमारी साहको शुक्रबार बिहान जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका सञ्चालक मिथलेश साहले बिहानै उनको मृत्यु भएको पुष्टि गरेका छन्।
गम्भीर अवस्थामा अस्पताल ल्याइएकी पविता भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकी थिइन्। चार दिनसम्म जीवन र मृत्युसँग लडिरहेकी पविता अन्ततः जीवनको लडाइँ हारिन्।
सोमबारको घटनामा पविता आफ्ना तीन सन्तान — ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहसँगै बेहोश अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याइए पनि तीनै बालबालिकाको तत्काल मृत्यु भएको थियो।
पविता गर्भवती थिइन्। विष सेवनपछि चिकित्सकहरूले आपतकालीन सिजेरियन गरी गर्भमा रहेको शिशुलाई जोगाउन सफल भएका थिए। अस्पतालका अनुसार नवजात शिशुको स्वास्थ्य अवस्था हाल सामान्य छ र विशेष निगरानीमा राखिएको छ। मृतक पविताको यही नवजात शिशु परिवारको एक मात्र बाँकी सदस्य बनेको छ।
सामूहिक विष सेवनको कारण अझै स्पष्ट भएको छैन। तर, स्थानीय बासिन्दा र प्रहरी स्रोतका अनुसार पारिवारिक विवाद तथा मानसिक तनावका कारण पविताले यस्तो कठोर कदम चालेको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।


