नेपाली राजनीतिक घटना क्रममा भारतले भूमिका खोजिरहँदा नेपाली शीर्ष नेताहरुको भारत भ्रमण बाक्लिएको छ । केही दिन अघि मात्रै नेपाली कांग्रेसकी नेतृसमेत रहेका परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण गएकी थिइन् । कांग्रेसकै महामन्त्री गगन थापा पनि भारत भ्रमणबाट फर्किएका छन् ।
त्यसपछि भारततर्फबाट पनि भारतीय जनता पार्टी र भारतीय मन्त्रीहरुको पनि नेपाल भ्रमणको क्रम चलिरहेको छ । यसैवीच शनिबार नेकपा समाजवादी नयाँ शक्तिका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि भारत भ्रमणमा गएका छन् ।
नेपाल र भारतका नेताहरुको दुई देशबीचको भ्रमण भइरहँदा यसलाई अर्थपूर्ण रुपमा राजनीतिक विश्लेषकहरुले लिन थालेका छन् । शीर्षनेताहरुको भ्रमण चलिरहँदा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने भारतको हैदरावादमा भइरहेको एक कार्यक्रममा सहभागी भएका छन् ।
सो कार्यक्रममा सहभागी हुँदै जसपा नेपालका अध्यक्ष यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडि बढाउनु पर्ने बताएका छन् । प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले विश्वभरिका आममानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्ने बताए ।
जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनु पर्ने बताए । उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनु पर्ने बताए ।
वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढदै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको दाबी गरे । ‘युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन गरिरहेको उनको भनाइ छ ।
अध्यक्ष यादवले भने, ‘विश्वभरका सबै व्यक्तिहरूको मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्यायलाई प्रवर्धन गरिनु पर्दछ ।’ जाति, लिंग, धर्म, वर्ग, राष्ट्रियता आदिको आधारमा भेदभाव बढदै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकार को रक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच, महिला, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायहरूको अधिकार, स्रोत साधनमा पहुंच र प्रतिनिधित्वको सुनिश्चित्तता गरिनु आवश्यक रहेको बताए ।
सम्पूर्ण देश वा राष्ट्रहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील शक्तिहरुले विश्वब्यापी रुपमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको अभियान निरन्तर जारी राख्न अध्यक्ष यादवले आग्रह गरे । भारतको हैदरावादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भइरहेको तीन दिवसीय सो सम्मेलनमा एक सय भन्दाबढी मुलुकका चार सयभन्दा बढी समाजवादी राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।


