अपडेट 
२०७७ बैशाख ९, मंगलवार १७:२२

काठमाडाैं। कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका कैलालीको लम्कीचुहाका २१ वर्षीय राज कोली आइतबार पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट देखिएपछि घर फर्किए। भारतको मुम्बईबाट चैत ८ गते हिँडेका राज चैत १० गते नेपाल आइपुगे।

आफ्नो नाम बताउँदा हुन्छ भन्दै उनले भने, ‘उता पनि यस्तो खबर पुग्यो। नेपालबाट आमाले पनि पछि के हुन्छ, घर फर्किनु भन्नुभयो। काम गर्ने होटल बन्द हुने स्थिति भइसकेको थियो। त्यसैले चैत ८ गते मुम्बईबाट नेपालतर्फ हिँड्यौं।’

चैत १० गते नेपाल आइपुगेका उनी ११ गते आफ्नो घर पुगे, बिहान ७ बजेको समयमा। आफूलाई असजिलो हुने, शरीरमा फरकपन केही पनि महसुस भएको थिएन उनलाई। घर पुगेपछि परिवारसँग साधारण हालखबर सोधे। राज भन्छन्, ‘प्रतापपुरबाट आएका मान्छेहरुले क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभयो। घरमा भेटघाट गरिसकेपछि म प्रतापपुरको क्वारेन्टाइनमा बस्न गएँ।’

११ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि उनमा कुनै किसिमको असहजपन, अप्ठ्यारो महसुस भएको थिएन। न उनको शरीरमा कुनै लक्षण नै देखिएको थियो। क्वारेन्टाइनमा नै भएको बेला गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। राज भन्छन्, ‘११ दिन क्वारेन्टाइनमा बसेपछि सेती अस्पताल लगियो। त्यहाँ आइसोलेसनमा १६ दिन बसें।’

आइसोलेसनमा बस्दा सामान्य भएको बताउँछन् उनी। शरीरमा कुनै असहजता थिएन। दिनभर फिल्म हेर्ने, नेट चलाउने, फेसबुकबाट साथीभाईसँग सम्पर्क गर्ने गर्थे उनी। भन्छन्, ‘डाक्टरहरुले जरुरत परे बाेलाउनु आउँछौं भन्नुभएको थियो। फोन गर्नु भन्नुभएके थियो, तर जरुरत नै परेन। दुईपटक आफैं आएर मेरो हालचाल हेर्नुभएको थियो।’ उनलाई आफ्नो शरीरमा केही भएजस्तो लागेको थिएन। उनी थप्छन्, ‘नर्सहरुले राम्रो हेरचाह गर्थे। उनीहरुको व्यवहार राम्रो थियो। खाना खाने, दिनभर आराम गर्ने गरेर बसें १६ दिनसम्म।’

आइतबार कोरोना परीक्षण गर्दा पिसिआरमा नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको हो। अहिले उनी घरमा एक हप्ताको लागि अस्पतालले क्वारेन्टाइन जस्तै गरेर बस्नु भनेको मानिरहेका छन्। राज भन्छन्, ‘घरमा आमा, बुबा, दाजु, भाउजु, बच्चाहरु छन्। म अस्पतालले भनेको जस्तै क्वारेन्टाइनमा बसिरहेको छु।’

विगत आठ वर्षदेखि भारत गएर काम गर्न थालेका राजु यसपटक लगभग ५ महिनासम्म काम गरेर फर्किए। कोरोना महामारीका कारण अलि छिटो घर फर्कनुपरेको उनको भनाइ छ।

कोरोनालाई जितेका उनी भन्छन्, ‘स्वास्थ्यको कुनै पनि समस्या छैन। मान्छेले हिम्मत हार्न नहुने रहेछ। आत्मबल बलियो पार्ने, अनि झोल पदार्थ बढी खाने, हात धुने, आफ्नो सरसफाइमा उचित ध्यान दिने गरेमा यसलाई जित्न सकिने रहेछ।’ आफूलाई यो रोगबाट डराउनु नपर्ने अनुभव भएको भन्दै राजु अगाडि थप्छन्, ‘मलाई संक्रमण भए पनि आत्मबल बलियो थियो। तातोपानी पिएर स्वास्थ्यलाई राम्रोसँग हेरचाह गरिरहें। अस्पतालमा सरकारले पनि राम्रो व्यवस्था गरिदिएको थियो। हामीलाई खान बस्नको सुविधा थियो। उपचार भनेरै त्यस्तो केही त भएन। तर, नर्सले गर्ने व्यवहार राम्रो थियो। अहिले संक्रमणलाई जितेर आएको छु।’

Comment


Related News

Latest News

Trending News