अपडेट 
२०७७ बैशाख ९, मंगलवार १७:४९

जनकपुरधाम । प्रदेश-२ का आठ जिल्लामा कोरोना संक्रमणको आशंका गरिएका ३ हजार २ सय ११ जनाको आरडिटी परीक्षण गरिएको छ। सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङमा आरडिटी परीक्षणको तथ्याङ्‍क सार्वजनिक गरेका हुन्। उनका अनुसार सबभन्दा बढी पर्सामा १ हजार ७ सय ३९ जनाको आरडिटी परीक्षण गरिएको छ। वीरगन्जका ३ जनामा कोरोना संक्रमित पुष्टि भएपछि उनको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर आरडिटी परीक्षणलाई तीव्रता दिएको छ।

यस्तै एक जना कोरोना संक्रमित भेटिएको रौतहटमा ३ सय ४३ जनाको आरडिटी परीक्षण गरिएको छ। सप्तरीमा ५ सय ११, सिरहामा २ सय ५१, धनुषामा १ सय ६१, महोत्तरीमा १ सय २, सर्लाहीमा १ सय १६ र बारामा ८८ जनाको आरडिटी परीक्षण भएको सचिव घिमिरेले बताए। उनले पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण गरिएका कसैको रिपोर्ट पोजेटिभ नआएको स्पष्ट पारे।

प्रदेश २ मा १ सय ६४ क्‍वारेन्टाइन निर्माण गरिएकोमा ३ हजार ५ सय ८३ बेड छन्। क्‍वारेन्टाइनमा आजसम्म १ हजार २ सय ४ जना र होम क्‍वारेन्टाइनमा २ हजार ३ सय ४२ जना भएकाे सचिव घिमिरेले जानकारी दिए। उनका अनुसार प्रदेशभर २ सय २७ बेडको आइसोलेसन छन्, जसमध्ये १५ जना भर्ना छन्।

लकडाउनको उल्लंघन नगर्न अपिल

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन नगर्न सचिव घिमिरेले अपिल गरेका छन्।

उनले कोरोना महामारी नियन्त्रणका लागि लकडाउनको पालना गर्न समाजका सम्पूर्ण पक्ष र समुदायको उत्तिकै योगदान रहने औल्याए। ‘कोरोना नियन्त्रणका लागि सामाजिक दूरी प्रभाकारी हुने अन्तर्राष्ट्रिय अनुभवहरुले सिद्ध गरिसकेको अवस्थामा लकडाउनको कार्यान्वयन बाध्यत्मक अवस्था हो भन्ने तथ्यलाई सबैले आत्मसात गर्न जरुरी छ’, उनले अपिल गरे।

कतिपय स्थानमा समुदायस्तरबाट लकडाउनको पूर्ण पालनाका लागि सहयोग हुन नसकेको जस्ता विवरणहरु आइरहेको बताउँदै सचिव घिमिरेले सबै पक्ष र क्षेत्रलाई संवेदनशील हुन आग्रह गरे।

मौसमबाट सतर्कता जरुरी

लकडाउनको यो अवस्थामा मौसम पूर्वानुमान महाशाखाले प्रदेश २ लगायत मुलुकका विभिन्न क्षेत्रमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेको जनाएको छ।

‘मौसमी प्रणालीको सक्रियताले हावाहुरी सहितको वर्षाको संभावना रहेको छ’, सचिव घिमिरेले भने, ‘यस प्रदेशमा रहेका क्‍वारेन्टाइनलगायतका क्षेत्रमा बढी सतर्कताको आवश्यकता छ।’ उनले विशेषतः गाउँगाउँमा निर्माण गरिएका क्वारेन्टाइहरुलाई हावाहुरीले प्रभावित बनाउन सक्ने भएकाले सावधानी र सतर्कता अपनाउन सुरक्षा निकाय, जनप्रतिनिधि र सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरे।

सोमबार राति अचानक आएको हावाहुरीले पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा क्षति पुर्‍याएको छ। आल्मुनियम र सिसाले निर्माण गरिएको आइसोलेसन वार्डमा क्षति पुगेपछि उपचाररत ४ जना कोरोना संक्रमितलाई अस्पतालकै आइसियु कक्षमा सारिएको छ।

Comment


Related News

Latest News

Trending News