अपडेट 
२०७७ बैशाख ९, मंगलवार २१:०६

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा प्रयोगशालामा परीक्षण गर्ने रिएजेन्ट सकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ल्याबमा गरिने पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट देशभर नै अभाव भएको हो।  पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि सरकारले र्‍यापिड परीक्षण र पीसीआर परीक्षणलाई तीव्र बनाएको छ। यस्तोमा कोरोना भएको नभएको फाइनल रिपोर्ट दिने पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट देशभर नै अभाव भएको हो।

अहिले सरकारले देशका करिब १५ ठाउँमा कोरोना पत्ता लगाउन पीसीआर परीक्षण गरिरहेको छ।  सरकारले  परीक्षणको दायरा फराकिलो पार्दै आवश्यक पर्ने किटको देशभर अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पीसीआर परिक्षण गर्ने रिएजेन्ट तत्काल ल्याउनुपर्ने छ।  ‘हाल हामीलाई तत्कालै २० हजार भिटिएम चाहिन्छ, तर त्यो छैन, य अघि भए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कति राखेको छ?  प्रदेशस्तरमा पीसीआर परीक्षण हुने ठाउँमा कति पठाइएको छ? त्यो खुलेको छैन’, स्रोतले भन्यो।

  चितवनको भरतपुरस्थित कोरोना प्रयोगशालामा पीसीसआर परिक्षण गर्ने रिएजेन्ट सकिएपछि काम नै रोकिएको छ। यहाँ दैनिक ४५ देखि ५० जनाको पीसीआर परीक्षण हुने गरेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले रिएजेन्ट सकिएकाले मंगलबारदेखि कोरोना परीक्षण रोकिएको बताए। ‘हामीसँग भएका र हेटौंडाबाट ल्याइएका रिएजेण्ट पनि हिजो सकिएका छन्’, सूचना अधिकारी पौडेलले भने, ‘आजदेखि संकलन हुने स्वाब हेटौंडा वा काठमाडौं पठाउनुपर्ने हुन्छ।’ जिल्लामा दुई जनामा कोरोना संक्रमण देखिएपछि अहिले दुई महिनाअघि विदेशबाट आएकाहरु पनि कोरोना परीक्षणका लागि आउने गरेका छन्।

त्यही कारण रिएजेन्टको खपत बढेको हो। चैत २१ गतेबाट शुरु भएको चितवनको प्रयोगशालामा मन्त्रालयले ४ सय नमुना परीक्षण गर्ने गरी रिएजेन्ट पठाएको थियो। यसअघि बैशाख चार गते स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचारका लागि आवश्यक थप स्वास्थ्य स्वास्थ्य सामाग्री खरिद प्रकृया अघि बढाएको थियो। स्वास्थ्य सेवा विभागले कोरोना उपचारमा आवश्यक थप सामग्री खरिदका लागि तीनवटा कम्पनीसँग खरीद सम्झौता गरेको थियो।

त्यही सम्झौता अनुसार एक हप्ताभित्रै कोभिड १९ को उपचारको लागि आवश्यक पर्ने रिएजेन्टसँगै २२ थरीका स्वास्थ्य सामाग्री ल्याउने सम्झौता भएको थियो। ती सामाग्री आइनपुगिनसकेको अवस्थामा सरकारसँग हाल पीसीआर परिक्षण गर्न रिएजेन्ट अभाव हुने देखिएको हो। यसअघि ओम्‍नी समूहसँग २० प्रतिशतभन्दा महँगोमा खरिद सम्झौता गरेपछि विवादमा परेको स्वास्थ्य मन्त्रालयसँग अझै पनि कोरोना परीक्षणका लागि आश्यक रिएजेन्ट नहुँदा आरडिटीलाई प्राथामिकता दिइरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहोनीले रिएजेन्ट अभाव भएको बताएका छन्। उनले नयाँ रिएजेन्ट आउन अझै केही दिन लाग्‍ने बताए।

Comment


Related News

Latest News

Trending News