धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नम्बर १ रमदैयास्थित वण्डरलैण्ड वाटरपार्कमा शनिबार बिहान विद्यार्थी र प्रहरीबीच झडप भएको छ । वंडरलैण्ड वाटरपार्कमा अनधिकृत रुपमा प्रवेश गरेका विद्यार्थीहरुले उपद्रव गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । कमजोर व्यवस्थापनको कारण भएको अराजक स्थितिलाई नियन्त्तणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । विद्यार्थीले गरेको ढुंगामुढाबाट ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार पार्कमा समान्य क्षति भएको छ । जानकी फन पार्क एण्ड रिसोर्टका सञ्चालक गुड्डु जैनले आइतबारदेखि निर्धारित समयमा नै फन पार्क सञ्चालन हुने जनाएका छन् ।
शिक्षा क्षेत्रमा क्रियाशील कृष्ण फाउन्डेशन नामक संस्थाले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गरी वाटरलैण्ड पार्कसित सम्झौता गरी प्रति विद्यार्थी एक सय रुपैयाँमा टिकट बिक्री गरेको थियो । सामान्यतया ९ सय रुपैयाँ पर्ने टिकट एक सय रुपैयाँमा क्यूआर कोडमार्फत बिक्री गरिएको थियो ।
सस्तो टिकट पाएपछि शनिबार बिहानै पार्कमा ठूलो संख्यामा विद्यार्थी पुगेका थिए । तर, पार्कको क्षमता भन्दा धेरै विद्यार्थी आएका कारण व्यवस्थापन पक्षले प्रवेशमा रोक लगाएपछि विवाद शुरु भएको बताइएको छ । विवादका क्रममा पार्कका कर्मचारीले विद्यार्थीमाथि हातपात गरेको आरोपपछि विद्यार्थी आक्रोशित बनेर तोडफोडमा उत्रिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जनाए अनुसार स्थिति नियन्त्रणमा लिन गएका प्रहरीमाथि विद्यार्थीले ढुंगामुढा गरेका थिए । झडपमा ढुंगामुढाबाट ५ जना प्रहरी सामान्य घाइते भएको उनले जनाएका छन् । पार्क सञ्चालक गुड्डु जैनले कृष्णा फाउण्डेशनले शैक्षिक संस्थाको प्रचारप्रसारका लागि बिहान ९ देखि ११ बजेसम्मका लागि पार्क लिएको जनाएका छन् । ‘ पार्कको क्षमता भन्दा अत्यधिक संख्यामा मानिसको उपस्थिति भएपछि स्थिति तनावपूर्ण बनेको उनले जनाएका छन् ।
‘अपेक्षा भन्दा बढी संख्यामा विद्यार्थी आएको कारण व्यवस्थापनमा समस्या आयो र स्थिति बिग्रियो ’ उनले भने, पार्कको मुख्य प्रवेशद्वारमा क्यूआर कोडको रिसिभ र परिचय पत्र अनिवार्य रुपमा देखाएर प्रवेशको व्यवस्था गरिएको थियो । तर विद्यार्थीहरु पर्खाल र ढोकामा चढेर जथाभावी प्रवेश गर्न थालेपछि समस्या उत्पन्न भएको उनले बताएका छन् । विद्यार्थीहरूले गेट, लाइट र सजावटका सामग्री तोडफोड गरेको जैनेले जनाएका छन् ।
कृष्णा फाउण्डेशनले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई आफूले भनेको कलेजमा भर्ना गराउने उद्देश्यले एक हप्ताअघिदेखि नै वाटरपार्कमा भेला पार्ने योजना बनाएको थियो । सस्तो टिकटमा मनोरञ्जन पाइने लोभमा अपेक्षाभन्दा धेरै विद्यार्थी उपस्थित हुँदा अप्रिय घटना भएको बताइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएका १० जनासँग सोधपुछ भइरहेको जनाएको छ ।
घटनापछि दिउँसो कृष्णा फाउण्डेशनको तर्फबाट उपाध्यक्ष सुजीत कर्णले जारी गरेको विज्ञप्तिमा विद्यार्थीहरुबाट उठाइएको एक रुपैयाँ फिर्ता गरिने जनाएका छन् । ‘तोडफोड लगायतका घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दछाँै’ उनले विज्ञप्तिमा भनेका छन्, ‘पवित्र उदेश्यका साथ गरिएको कार्यक्रममा भएको अप्रिय घटनाप्रति दुख व्यक्त गर्दछौँ ।’
पार्कका सञ्चालक जैनले जारी गरेको विज्ञप्तिमा आइतवारबाट पुनः निर्धारित समयमा नै सञ्चालन हुने जनाएका छन् । उनले पानीको सफाइ लगायत मर्मतका कार्यहरु भइरहेकोले सञ्चालनमा ढिलाइ नहुने जनाएका छन् । पार्कमा हाल वाटरलैण्ड हाल सञ्चालनमा रहेको छ । प्रहरीले यस प्रकारको कार्यक्रमको आयोजना गर्न सुरक्षा निकायसित समन्वय गर्न भनेको छ ।
भीडभाड हुने कार्यक्रमका लागि अनिवार्य रुपमा स्वीकृति र समन्वय हुनुपर्ने धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीले जनाएका छन् । घटनामा संलग्नहरुको पहिचान र अनुसन्धान जारी रहेको बताउँदै उनले भने, ‘दोषीहरुलाई कारबाहीको दायरामा ल्याइने छ ।’


