२०८२ जेष्ठ ५, सोमबार १८:५८

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको विवाहहेत्तर सन्वन्धका कारण हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय अरविन्दको विवाहित एक महिलासँगको प्रेम सम्वन्धका कारण हत्या भएको जानकारी गराएको छ । प्रहरीले हत्यामा संलग्न रहेका अरविन्दको प्रेमीसहित छ जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अरविन्दको प्रेमिका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान २९ वर्षीय मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र ५४ वर्षीय सलाउद्दिन अंसारी रहेका छन् । पक्राउ परेका अभियुक्त सबै नातेदार हुन् । प्रहरीका अनुसार मृतक अरविन्द र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्वन्ध रहेको थियो ।

अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन् । उनीहरु गएको चैत १९ गते घरबाट भागेर भारतसम्म पुगेका थिए । भारतमा एक महिना बसेर उनीहरु बैशाख २० गते नेपाल आएका थिए ।

घर फर्किएपछि गाउँका पन्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमती जुटेको थियो । त्यसपछि पनि अरविन्द पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ । अरविन्द आउजाउ गरेको देखेपछि परिवार तथा गाउँलेले नजिमा खातुनलाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर अरविन्दको हत्या गर्ने योजना बुनेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

अरविन्द बैशाख २४ गतेदेखि किसनपुरस्थित आफ्नो घरबाट बेपत्ता थिए । अरविन्दलाई बैशाख २८ गते बिहान ८ ईश्वरपुर नगरपालिका ६ मा रहेको फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर पक्राउ परेका अभियुक्तहरु मिलेर ईश्वरपुर नगरपालिका ८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

एसपी खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनका श्रीमान मोस्तकिमसहितले अरविन्दको हत्या गरेको खुलेको छ । अरविन्दको हत्यापछि अभियुक्तहरु शवलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए । हत्या गरेको भोलीपल्ट बैशाख २९ गते राति ९ बजेतिर अभियुक्तहरुले पुनः अरविन्दको शवलाई ईश्वरपुर नगरपालिका–८, थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए ।

बैशाख ३० गते बिहान ८ः३० बजे मृतक अरविन्दको शव फेला परेको थियो । सुरुमा शवको सनाखत नै हुन सकेको थिएन् । प्रहरीले बेवारिसे शव भन्दै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लग्यो । बैशाख ३१ मृतकको दाजु अशोककुमार पण्डित कुम्हारले अस्पतालमा पुगेर शवको सनाखत गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा अरविन्दको हत्यामा छ जना संलग्न रहेको पाइएको छ । उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्जज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए ।

Comment


Related News

Latest News

Trending News