
नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का सहायक निर्देशक तथा बीपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई कालोमोसो दलेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिले विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको भन्दै कारबाही गरेको अखिल क्रान्तिकारीको दाबी छ । प्राचार्य पौडेललाई कालोमोसो दलेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
त्यस्तै क्रान्तिकारीले परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेको समेत आरोप लगाएको छ । त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको आरोप क्रान्तिकारीले लगाएको छ ।
कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई नियन्त्रणमा लिएको जनाइएको छ । यसैबीच अखिल क्रान्तिकारीका अध्यक्ष बीरेन्द्र शाहले पौडेललाई चौरासीघरे कारवाही गरिएको भन्दै गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
साथै पौडेललाई बर्खास्त गरी तत्काल कडा कारवाही गर्न जोडदार माग गरेका छन् । अपराधी क्रियाकलापमा संलग्न गोविन्द पौडेललाई गिरफ्तार गर्नुको सट्टा शैक्षिक बेथितिका विरुद्ध लडÞिरहेको विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु घोर आपत्तिजनक जनाउँदै पक्राउ गरिएका विद्यार्थी नेता आयुष र घ. महरलालाई यथाशिघ्र रिहा गर्न माग गरेका छन् ।