
सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नं. ५ निवासी तसलिम अंसारी र उनका भाई सलिम अंसारीमाथि गत शनिबार कुटपिट भएको घटनाले स्थानीय स्तरमा चासो बढाएको छ ।
घटनापछि पीडित पक्षले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितलाई प्रहरी हिरासतबाट रिहा गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । पीडित परिवारका अनुसार तसलिम अंसारीकी छोरीको विवाह जेठ ८ गते सोही पालिकाको वडा नं. ६ का लाल महम्मद अंसारीका छोरासँग तय भएको थियो ।
विवाहको तयारीस्वरूप गरगहना बनाउने विषयमा शनिबार बिहान स्थानीय सुनचाँदी पसले राजेन्द्र साह सोनारसँग वादविवाद हुँदा विवादले कुटपिटको रुप लिएको थियो । प्रत्यक्षदर्शीहरूको भनाइमा पसले साह सोनारले स्थानीय कमलेश साह सोनार, पप्पु कुमार यादव र राहुल कुमार महतोको सहयोगमा तसलिम अंसारी र उनका भाईलाई सुगुरको खोरमा थुनेर निर्घात कुटपिट गरेका थिए ।
प्रहरीका अनुसार घटनामा संलग्न राजेन्द्र साह सोनारसहित चार जनामाथि धर्म सम्बन्धी कसुर र अमानवीय अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यता तसलिम अंसारी र दिल मोहम्मद अंसारीलाई समेत अभद्र व्यवहारको आरोपमा हिरासतमा राखिएको डिएसपी सरोज राईले जानकारी दिए । पीडित पक्षले मंगलबार मलंगवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूमाथि पिडकहरूबाट दिनरात धम्की, घर वरिपरि विष्फोटक पदार्थ पड्काउने, अपहरण गर्ने जस्ता धम्कीसहित मानसिक त्रास सिर्जना गरिएको गुनासो गरेका छन् ।
प्रहरीमा दिएको मुद्दा फिर्ता लिन भन्दै उनीहरूले यस्ता घम्कीहरु दिएको पिडित पक्षले बताए । ‘मेरो श्रीमान् र देवर निर्दोष हुँदा हुँदै अन्य अपराधीसरह हिरासतमा बस्नुपरेको छ, छोरीको विवाह समेत रोकिएको छ,’ पीडितकी श्रीमतीले पत्रकारहरू समक्ष दुख व्यक्त गरिन् । पीडित पक्षले स्थानीय प्रशासनसँग पीडितको रिहाइ र दोषीमाथि निष्पक्ष अनुसन्धानसहित कडा कानुनी कारबाहीको माग गरेको छ ।