धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सामुदायिक वन क्षेत्रको जमिन अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका – ६ स्थित चारनाथ सामुदायिक वन क्षेत्रको जमिन अतिक्रमण गरी बनाइएका घरटहरा प्रहरीले हटाएको छ । डिभिजन वन कार्यालय धनुषाले जानकारी दिएको अनुसार करिब तीन हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका नौवटा घरटहरा हटाइएको छ ।
डिभिजनल प्रमुख विनोद सिंहका अनुसार वनको जमिनमा घरटहरा निर्माण गरी निजी प्रयोगमा ल्याउने प्रयास भएपछि ती संरचना हटाइएको छ । उनले भने, ‘अनधिकृत रूपमा घरटहरा निर्माण गरेर वन क्षेत्रको जमिनमा कब्जा गर्ने प्रयास भएपछि टोली परिचालन गरी ती घरटहरा हटाएका हौँ ।’ सो कारबाही कमला सब डिभिजन वन कार्यालयका अधिकृत भगलु मण्डल, जिल्ला वन सुरक्षा टोलीका कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा जनपद प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा गरिएको थियो ।
स्थानीय प्रहरी, तथा सम्बन्धित निकायको सहकार्यमा अतिक्रमणविरुद्धको अभियानलाई निरन्तरता थालिएको जनाइएको छ ।


