ठेकेदार कम्पनीले आर्थिक र प्राविधिक रुपमा काम गर्न असमर्थता जनाएपछि बाराको मानमत–मटिअर्वा सडकखण्डको अधुरो करिब ४ किमि सडक वर्षाअघि निर्माण सम्पन्न नहुने भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका इञ्जिनियर धर्मेन्द्रकुमार दासले ठेकदार ओम साई एन्ड कम्पनी/सप्तकोशी जलाधार ज्वाइन्ट भेन्चर कम्पनीले काममा ढिलाइ गर्नुका साथै जनशक्ति, उपकरण र अर्थ अभाव रहेको बताउँदै काम गर्न असमर्थता जानकारी दिए । उनले भने, ‘ठेकेदार कम्पनीलाई सोध्दा उसका प्रतिनिधिले जनशक्ति, उपकरण र अर्थ तीनवटै कुराको अभाव रहेको जवाफ दिइरहेका छन्, यी तीनवटै कुराको अभाव भएपछि साइटमा काम अघि बढ्नै सक्दैन ।’
भारत सरकारको लगानीमा निर्माण भएको मानमत– मटिअर्वा सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिका संस्कार एफएफदेखि दुर्गा स्कुलसम्म ३ किलोमिटर, शीतलपुरमा ४ सय ८० मिटर र मटिअर्वामा १ सय ८७ मिटर गरी कुल ३ दशमलव ६८ किमि कालोपत्र गर्न बाँकी छ । स्थानीयले मुआब्जाको माग गर्दै साइट खाली नगरेपछि ४ वर्षदेखि उक्त सडक खण्ड अधुरो नै रहेको छ । निर्माण हुन बाँकी कलैया उपमहानगरपालिका अन्तर्गत भरत चोकदेखि संस्कार एफएफसम्मको सडकखण्ड ठेकदार कम्पनीले २ महिनाअघि काम सुरु गरेर बीचमै अधुरो छाडेपछि सर्वसाधारणलाई आवागमनमा निक्कै सास्ती भएको छ ।
कम्पनीले २२ करोड ३१ लाख ८६ हजार ३ सय १८ रुपैयाँमा सकार गरेको यो ठेक्काको सम्झौता २०७८ पुस २७ गते भएको थियो । सम्झौताअनुसार ठेकदार कम्पनीले २०७९ माघ १ सम्म काम सक्नुपथ्र्यो । सम्झौता मितिमा काम गर्न नसकेपछि दोस्रोपटक पाएको म्याद २०८१ फागुन २९ सम्ममा पनि ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सकेन ।
अहिलेसम्म साइटमा सडक छेउ नाला निर्माणको कामलाई मात्र ठेकेदार कम्पनीले निरन्तरता दिएकाले करिब १७ प्रतिशत मात्र प्रगति रहेको इन्जिनियर दासले बताए । कार्यालयले ठेकेदार कम्पनीले राखेको ग्यारेन्टी रकम ५ करोड ४८ लाख रुपैयाँ र मोबिलाइजेसन रकम १ करोड ८८ लाख रुपैयाँसमेत फिर्ता लिइसकेको उनले बताए ।
कलैयावासीले अधुरो रहेको यो सडक निर्माणका लागि पटकपटक दबाबमूलक प्रदर्शन गरिसकेका छन् । विगतमा रहेको मुआब्जा विवाद हाल समाप्त भइसकेको र साइट पनि करिब खाली भएको अवस्थामा ठेकदार कम्पनीले विभिन्न बहानामा काम सम्पन्न नगर्नु दुःखद रहेको कलैया सिद्धेश्वरका सरोज साहले बताए ।


