अपडेट 
२०७७ बैशाख ११, बिहीबार १०:५०

काठमाडौं सरकारले सोमबार जारी गरेका अध्यादेश लोकतन्त्र र संविधानको मर्मविपरीत भएको कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्। लोकतन्त्रदिवसका दिन बिहीबार बिहान कांग्रेस कार्यकर्ताले सरकारको विरोधमा प्रदर्शन गरेका हुन्।

पूर्वसांसद रञ्जित कर्णको नेतृत्वमा ‘लकडाउन’कै बीच सामाजिक दूरी कायम गरेर नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरिएको हो। अध्यादेश फिर्ता लिन माग गर्दै प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघका नेता भुवन भट्टले जानकारी दिए। ‘यो अध्यादेश लोकतन्त्रलाई नै समाप्त गर्ने नियतले ल्याइएको हो,’ भट्टले भने, ‘लोकतन्त्र विरोधी अध्यादेश खारेज हुनुपर्छ।’ 

सरकारले सोमबार दल विभाजनलाई खुकुलो बनाउने गरी राजनीतिक दल विभाजन सम्बन्धी र प्रमुख प्रतिपक्षी दलको नेता बिना नै संवैधानिक परिषद् बैठक सञ्चालनसम्बन्धी दुई वटा अध्यादेश ल्याएका थिए।  

प्रमुख प्रतिपक्षी दल कांग्रेसहितका संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलहरुको बुधबार बसेको बैठकले अध्यादेशको विरोध गर्दै फिर्ता  लिन सरकारसँग माग गरेका थिए। उनीहरुले लकडाउनसम्म अध्यादेशको विरुद्धमा जनमत बनाउने र त्यसपछि सडक आन्दोलन गर्ने निर्णय गरेका थिए। साथै विपक्षी दलहरुले संसद बैठक बोलाउनसमेत माग गरेका थिए।

Comment


Related News

Latest News

Trending News