भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले जवाफ दिने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । तर प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको जवाफ नसुन्ने भन्दै निरन्तर बिरोध जनाएका थिए । त्यस क्रममा केहि सत्तापक्ष सांसदहरु उठेर बोल्न पाउनुपर्ने माग राखेका थिए । सहज रुपमा सदन सञ्चालनमा अवरोध भएपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् । आफुहरुको माग पुरा नभएसम्म सदन चल्न नदिने अडान प्रतिपक्षीले राखेको छ ।


