२०८२ जेष्ठ २१, बुधबार १२:५४

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गर्दै टेन्डर सूचना प्रकाशनका नाममा गैरकानुनी लाभ लिएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा पाँच जनाविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

नेपाल सरकारका विभिन्न निकायबाट राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने टेन्डर सूचना नियमानुसार नछापी, अभिलेख प्रयोजनका लागि मात्र सीमित रूपमा प्रकाशित गरिएको भन्दै प्राप्त उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा तिलाठी कोईलाडी गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक निर्माण सम्बन्धी चार ठेक्काको बोलपत्र आह्वान तथा खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन र नियमावली विपरीत सौर्य राष्ट्रिय दैनिकमा एक प्रति मात्र प्रकाशित गरिएको पाइयो । सो सूचनाहरू वास्तवमा पत्रिकामा प्रकाशित नै नभएको प्रेस काउन्सिल नेपाल तथा पत्रिकाको PDF अभिलेखबाट पुष्टि भएको हो ।

यस्तो सूचना लुकाएर सार्वजनिक रूपमा वितरण नगरी, झुट्टा बिल भरपाई तथा कागजात तयार पारेर टाईम्स रिपब्लिक मिडिया प्रालिलाई तीन लाख सोह्र हजार चार सय दश रुपैयाँ भुक्तानी गरिएको देखिएको छ । सो कम्पनीले मौखिक रूपमा डच मिडिया प्रालिलाई सूचना प्रकाशनको जिम्मा दिएको र उक्त कम्पनीले प्रभाव राष्ट्रिय दैनिकमार्फत सूचना प्रकाशित गराएको भन्दै भुक्तानी लिएको प्रमाण समेत उजागर भएको छ ।

यस प्रकरणमा तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र सह–लेखापाल शत्रोहन दाससहित, टाईम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भुषण कुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल, र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोप पत्र दायर गरिएको हो। आरोपपत्रमा उनीहरूलाई कसूरदार ठहर गर्दै कैद, जरिवाना र बिगो असुलको माग गरिएको छ ।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यो घटनाले सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई अझ प्रस्ट पारेको छ । सूचना लुकाउने नियतका साथ सार्वजनिक खरिद प्रक्रिया नै अपारदर्शी बनाउने जस्ता कार्यहरूविरुद्ध कडा कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

Comment


Related News

Latest News

Trending News