अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १०:००

जनकपुरधाम । कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे ।

सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराए । करिब अढाई घण्टाको छलफलमा उठेका विषयको जवाफ दिँदै उनले संक्रमण कहाँबाट फैलियो भन्ने अन्तिम टुंगोमा प्रदेश सरकार पुग्न लागेको बताए । उनले भने, ‘भारतको युपीमा उर्दु भाषा अध्ययन गरेर फर्किएका र दुबईबाट आएकामध्ये एक जनाबाट संक्रमण फैलिएको निष्कर्षमा हामी पुग्न लागेका छौं ।’

भारतबाट आएका १२ जमातीले संक्रमण ल्याएको भन्नेमा आफूहरू विश्वस्त नरहेको घिमिरेले दाबी गरे । सूक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका पाँच सदस्यमा संक्रमण फैलिएको देखिएको उनले बताए । ‘अरू भन्दा पनि ती युवाबाटै संक्रमण फैलिएको भन्नेमा हामी पुगिसकेका छौँ, यद्यपि दुबईबाट आएकाको पनि बुझ्दै छौं’, मन्त्री घिमिरेले भने । संक्रमण पुष्टि भएकाहरूले यस बीचमा संगत गरेका र उनीहरू कहाँकहाँ पुगे भन्ने विवरण खोजी गरी उपचार विधिलाई फराकिलो बनाइने उनको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानमा संक्रमितको सम्पर्क २ सय ५१ जनासँग पुगेको विवरण प्राप्त भएकाले सबैको परीक्षण चाँडै गरिने घिमिरेले बताए । कोसी अञ्चल अस्पतालमा सय जना संक्रमितको उपचार गराउने क्षमता रहेको र त्यसले धान्न नसक्ने देखिएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार हुने गरी प्रक्रिया अगाडि बढाइएको उनले बताए । उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउन एक करोड बजेट विनियोजन भइसकेको जानकारी दिँदै घिमिरेले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए । तीन तहका सरकारबीच समन्वय अभावमा यसअघि उपचारमा ढिलासुस्ती भएको बताए ।

छलफलमा स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले उपचारको फ्रन्ट लाइनमा खट्न दक्ष जनशक्ति, स्वास्थ्य सामग्री, सुरक्षा कवज र अन्य सामग्री अभाव रहेको अवगत गराए । जिल्लाका विभिन्न भेगमा ४ सय ५ जनामा गरिएको स्वाब परीक्षणमध्ये २८ जनामा कोरोना पुष्टि भएको उनले बताए । त्रियुगा नगर प्रमुख बलदेव चौधरीले संक्रमित आउजाउ भएका २ सय ५ जनाको स्वाब र २ हजार १ सय जनाको र्‍यापिड परीक्षण तत्काल गर्न ध्यानाकर्षण गराए । स्वाब परीक्षण धरान र विराटनगरमा मात्रै हुँदा संकलनलगायत प्राविधिक काममा असहज भएको उनले बताए ।

संक्रमितको संख्या बढ्न थालेपछि उदयपुरलाई सिल गर्ने निर्णय भए पनि अन्य प्रदेशसँग समन्वय नहुँदा बाहिरबाट आउनेको संख्या नरोकिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए । ‘यो बेला ऊ र त्यो भनेर एकअर्कामा दोषारोपण गर्नुभन्दा सबैले जिम्मेवार भएर काम गर्नुपर्छ’, उनले भने । सो अवसरमा प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिँदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बनेको, किसानले खेती र उत्पादन गरेका वस्तु बिक्री गर्न नपाएको बताए । अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले बिरामी बोक्न नमान्नेजस्तो समस्या देखिएको उनीहरूले अवगत गराए ।

यहाँ संक्रमित संख्या २८ जना पुगेसँगै प्रशासनले लकडाउन थप कडाइ गर्दै संक्रमित क्षेत्र पूर्ण रूपमा सिल गरेको छ । उक्त क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले घेरा हालेको छ । आउजाउमा पूर्ण रोक लगाइएपछि स्थानीयको दैनिकी असहज बन्दै गएको छ ।अन्नपूर्ण पोष्टमा खबर छ।

Comment


Related News

Latest News

Trending News