नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी प्रतिनिधिसभामा गराइएको छ ।
प्रतिनिधि सभामा शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले निलम्बनबारे जानकारी गराएका छन् । सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सभामुखले सदनलाई जानकारी गराइएको छ ।
आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले उनको सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे भने ।
सभामुख घिमिरले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे। समाजसेवीसमेत रहेका उनको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो ।
त्यस्तै जसपा नेपालका मधेश प्रदेशका प्रदेशसभा सरोजसिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसको मधेश प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलले पूर्वमन्त्रीसमेत रहेका कुशवाहाको सांसद निलम्बन भएको सभामा जानकारी गराएका छन् ।
मधेश सरकारबाट अघोषित रुपमा प्राप्त संसदीय विकास कोषको योजनाको उपभोक्ता समिति गठनको नाममा अनियमितता गरेको आरोपमा कुशवाहालाई बिहीबार काठमाण्डुको अनामनगरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको थियो ।
गत जेठ १२ गते उनको घरमा छापामारी गर्दै अख्तियारको टोलिले उनका स्वकीय सचिव विनोदलाल कर्णलाई नियन्त्रणमा लिएको थियो । उनलाई मधेश प्रदेशका भौतिक विकास पूर्वाधार मन्त्री सरोजकुमार यादवको इसारामा पक्राउ गरिएको स्रोतको दाबी छ ।


