अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १५:०५

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङका २६ वर्षीय युवक ३० फागुनमा साउदी अरबबाट नेपाल आएका थिए ।

११ चैतमा घर पुगेका उनलाई विदेशबाट आएको ४१ दिनपछि कोरोना संक्रमण देखियो । यससँगै उनमा देखिएको कोरोनाको स्रोतको खोजी सुरु भएको छ ।

कन्ट्याक ट्रेसिङमा हामी जुटेका छौं,’ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीले भने, ‘चाँडै संक्रमण स्रोतको पहिचान गर्ने काम हुनेछ ।’

अहिलेसम्म प्राप्त सूचनाअनुसार संक्रमण देखिएका युवक फागुन ३० गते साउदीबाट काठमाडौं उत्रिएका थिए । त्यही दिन रात्रीबस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट चतरा गए, जहाँ उनकी श्रीमती र छोरी बस्दै आएका थिए ।

डीएसपी मगर भन्छन्, ‘उनी ८ दिनसम्म त्यहीँ बसे, धरान, इटहरी, चतरा, झुम्कालगायत स्थानमा पुगे ।’

उनी श्रीमती र छोरीलाई लिएर उदयपुरको मैनामैनीस्थित ससुराली घर पुगे । तीन दिन त्यहाँ बसेका उनीहरु ११ चैतमा मूलघर भोजपुर गएको पाइएको छ । गाउँमा पुगेपछि पनि भलिबल खेल्न तथा किनमेल गर्न बजार गएका थिए ।

उनीमा संक्रमणको लक्षण देखिएको थिएन । तर स्थानीय तहले विदेशबाट आएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा तीन दिन अगाडि उनको पनि टेस्ट भयो । आरडीटीमा पोजेटिभ आएपछि उनको थ्रोट स्वाब संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । र, बिहीबार साँझ पोजेटिभ रिपोर्ट आयो ।

अब उनको कोरोना संक्रमणको स्रोत विदेश कि उदयपुर भन्ने प्रश्न उठेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्की भन्छन्, ‘उनी उदयपुरबाट आएको पनि एक महिना भइसकेको छ । त्यसबेला त्यहाँ उदयपुरमा पनि संक्रमण देखिएको थिएन । त्यसैले आयातित नै हो कि ?’

उदयपुरमा कोरोना संक्रमण समुदाय स्तरमा देखिएको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रमा हो । र, मैनामैनी बेलाका नगरपालिकामा पर्छ र यसको त्रियुगासँग सीमा पनि जोडिएको छैन । तर मैनामैनीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ कि छैन भन्ने यकिन गर्न पनि परीक्षण गर्नुपर्ने हुन्छ ।

अहिले भने मैनामैनीमा रहेका संक्रमित युवकका सासु, ससुरासहित पाँच जनाको स्वाब संकलन गरिएको छ । यस्तै भोजपुरमा रहेको परिवारका सदस्य र उनको निकट सम्पर्कमा रहेकाहरुलाई पनि परीक्षणको दायरामा ल्याइँदैछ । ‘अहिलेसम्म हामीसँग १४/१५ वटा स्याम्पल संकलन गर्न सक्छौं’ जिल्ला जनस्वास्थ्य प्रमुख कार्की भन्छन्, ‘अरुका लागि थप मेडियम मगाउनुपर्छ ।’

संक्रमित युवकलाई भने घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ । र, थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने भएको छ ।

Comment


Related News

Latest News

Trending News