सप्तरीको राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले तोडफोड र कर्मचारीमाथि कुटपिट भएको भन्दै निलम्बित मेयरसहितका विरुद्ध जाहेरी दिएकी छन् । उनी जिल्ला प्रहरी कार्यालयमा पुगेर निलम्बित मेयर भीमराज यादवलगायत विरुद्ध सार्वजनिक, भौतिक संरचनाको अनाधिकृत रूपमा कब्जा र विनाश तथा आपराधिक उपद्रवमा जाहेरी दिइन् ।
नगरपालिकाका योजना शाखा प्रमुख मनोजकुमार यादव, वडा नम्बर ९ का सुधिर यादव, ७ का गज्जु भनिने गजेन्द्र यादवसहित २५/३० जनाविरुद्ध दिइएको जोहरीमा अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । साता दिनअघि उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत (डा.श्रवणकुमार साह) लाई सरुवा गराएर शिक्षा शाखाका कर्मचारी (भोगेन्द्रप्रसाद यादव)लाई निमित्त दिएपछि नगरपालिकामा विवाद चुलिएको थियो ।
निलम्बित मेयर यादवसहितकाले आर्थिक वर्षको अन्तिममा भ्रष्टाचार गर्न निमित्त ल्याएको आरोप लगाउँदै नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसेका थिए । गत मंगलबार प्रहरीसँगको सहयोगमा ताल्चा फुटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पदभार ग्रहण गराएपछि आन्दोलन चर्किएको थियो ।
ताल्चा फुटाएपछि आक्रोशित बनेकाले नगरपालिकामा तोडफोड गर्दै लेखा अधिकृत शत्रुधनलाल दासमाथि कुटपिटसमेत गरेका थिए । तोडफोड र कुटपिटपछि सोही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा उपसचिवस्तरकै प्रमुख प्रशासकीय अधिकृत पठाएपछि दुवै पक्षबीच अबेर रातिसम्म छलफल भई तीन बुँदे सहमति हुँदा विवाद टुंगिएको थियो ।
तर, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६ बमोजिम कारबाहीको माग गर्दै योजना शाखाका प्रमुख यादवमाथि पनि जाहेरी परेका कारण नगरपालिकामा विकासीय कामकाज प्रभावित हुनसक्ने स्थानीयवासीको भनाइ छ । सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाले नगरपालिकाबाट आएको जाहेरीअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।


