सिरहामा युवतीले युवकमाथि छुरा प्रहार गरेकी छन् । जिल्लाको गोलबजार नगरपालिका–४ गोलबजारस्थित एक घरमा बिहीबार युवकमाथि छुरा प्रहार भएको हो ।
गोलबजार–२ की १७ वर्षीया अनिशा मण्डलको चक्कु प्रहारबाट गोलबजार–१३ का २४ वर्षीय अशोककुमार महतो घाइते भएका छन् । अशोक यहाँ कोठा भाडामा लिएर बस्दै आएका थिए । युवती ती युवकको कोठामा आएर केही समय बसेको र त्यसपछि घाँटीसहित शरीरका अन्य भागमा छुरा प्रहार गरेको सिरहा प्रहरीले जनाएको छ । युवकको गोलबजारस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
सिरहा प्रहरीका अनुसार घरभित्र हल्लाखल्ला भएपछि स्थानीयहरू घरभित्र पस्दा युवती घरभित्रैको भ¥याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन् । उनको पनि शरीरमा चोट लागेको देखिएको र उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरूबीच प्रेम सम्बन्ध रहँदै आएको र भेटघाट हुँदै आएको देखेको स्थानीयवासीले जनाएको छ ।
यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।


