अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १७:५६

काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटार ओली र देउवाबीच भेटवार्ता भएको हो। 

भेटमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले विवादित दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। सँगै सभापति देउवाले पछिल्लो राजनीतिक अवस्था र स्वास्थ्य संकटको विषयमा प्रधानमन्त्रीलाई विभिन्न ६ वटा सुझाव दिएका छन्। 

यसरी विभिन्न सुझाव दिने क्रममा देउवाले जनकपुरबाट सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न मागसमेत गरेका छन्। 

‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ। तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ’, देउवाले प्रधानमन्त्रीलाई भनेको कुरा उद्धृत गर्दै कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ।’

देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को व्यापक नमुना परीक्षण बढाउन सुझाव दिएका छन्। ‘परीक्षण अहिलेको आवश्यकता हो’, दोस्रो सुझाव दिँदै देउवाले भने, ‘समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौं।’

देउवाले संकटको अवस्थामा फिल्डमा सक्रिय स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिन प्रधानमन्त्रीलाई सुझाएका छन्। ‘स्वास्थकर्मीलाई पीपीईलगायतका सामग्री अझै पर्याप्त पुगेको छैन। यथासिघ्र पुर्‍याउनु पर्‍यो’, तेस्रो सुझाव दिँदै देउवाले भने, ‘स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ।’ 

सँगै देउवाले श्रमिकलाई खान दिएर वा गाउँ जान दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। उनले राहत आवश्यक ठाउँमा नपुगेको र साना तथा ठूला सबै व्यवसायिलाई तत्काल प्याकेज दिनुपर्नेमा जोड दिए। 

‘श्रमिकलाई कि खान दिनोस्, कि गाउँ जान दिनोस्’, देउवाले ओलीलाई भने, ‘राहत अझै पुगेन, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्।’

सँगै देउवाले विदेशमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। हिजो उनीहरुले रेमिटेन्स पठाएर देशका लागि योगदान गरेकाले आज उनीहरुको उद्धार गर्नुपर्ने देउवाको भनाइ छ।

 ‘विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्’, देउवाले प्रधानमन्त्रीलाई भने, ‘त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस्।’

Comment


Related News

Latest News

Trending News